असोज २६, लेखनाथ
सचिन रानाभाट
प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव संघारमा छ। कास्कीको क्षेत्र नं १ को “क” मा गठबन्धन र नेकपा एमाले बिच कडा प्रतिस्पर्धा हुने भएको छ।
गठबन्धनको तर्फ बाट प्रदेश सभामा पुर्व प्रदेश सभा सांसद समेत रहेका दिपक कोईराला छन् भने नेकपा एमालेको तर्फ बाट पुर्व सांसद तथा पुर्व मन्त्री खगराज अधिकारी चुनावी मैदानमा उभिएका हुन।
बिसं २०७४ को चुनावमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धनबाट क्षेत्र नं १ मा प्रतिनिधिसभा तर्फ अधिकारी र प्रदेश सभा “क” तर्फ कोईराला उठेका थिए र बिजयी समेत भएका थिए।
पुनः प्रतिनिधि सभामा उठ्ने मनसाय बनाएका अधिकारीले पार्टीको निर्देशन अनुसार प्रदेश सभामा उठेका हुन । उनी बिजयी भएको खण्डमा र एमालेले गण्डकी प्रदेशमा बहुमत ल्याएको खण्डमा प्रदेशको मुख्यमन्त्री बन्ने एमालेका एक नेताले बताए।
यता गण्डकी प्रदेशको पुर्व सांसद, अर्थ तथा बिकास समितिको सभापती समेत बनेका कोईराला जनताको चाहना र गठबन्धनको साझा उम्मेदवार भएकोले फेरि पनि प्रदेश सभामा उठेको बताउँछ। नेता कोईराला राम्रो छवि भएका नेताका रुपमा परिचित छन्।
कास्की क्षेत्र नं १ क भित्र रुपा गाउँ पालिका (१ देखि ७ वडा ) र पोखरा महानगरपालिका वडा नं २६, २७, २९, ३०, ३१ र ३२ पर्छ।
बैशाखमा सम्पन्न स्थानीय तहको चुनावको नतिजा मध्य वडा अध्यक्षहरुले प्राप्त गरेको मतभार हेर्ने हो भने रुपा गाउँपालिकामा एमाले अगाडी देखिन्छ। उसको रुपा गाउँ पालिकामा ५ हजार ४ सय ५१ मत छ भने गठबन्धनको ४ हजार ३ सय ४ मत रहेको छ।
यता पोखरा महानगरका वडाहरुमा भने गठबन्धन अगाडि देखिन्छ। गठबन्धनको १४ हजार ७२ मत छ भने एमालेको ११ हजार ५ सय ९९ मत रहेको छ। वडाध्यक्षको मतलाई आधार मान्ने हो भने करिब १३ सय १७ मतले गठबन्धन अगाडी नै देखिन्छ। (श्रोत : निर्वाचन आयोग)
बिगत ३ दशक देखि कास्कीको क्षेत्र नं १ लाई आधार बनाएर राजनीति गर्दै आएका अधिकारी जति पपुलर छन् त्यति नै जनतामाझ लोकप्रिय भने मानिदैनन्। उनी आफ्नै जन्म गाउँ वेगनासको बिकासमा अनुदार बनेको आरोप पटक पटक खेप्दै आएका छन्। यद्यपि गण्डकी प्रदेशको भाबी मुख्यमन्त्री भनेर प्रचार गरेपछी भने उनले अन्य दलको समेत मत तान्न सक्ने देखिन्छ।
अधिकारी भन्दा कमै पपुलर भए पनि जनता माझ लोकप्रिय नेता मानिन्छन् कोईराला। युवा नेताको छवि समेत बनाएका कोईराला गठबन्धनको साझा उम्मेद्वार भए पनि आफ्नै पार्टी माओवादीको मात्रै मत हेर्ने हो भने पुग नपुग ३ हजार मात्रै छ ।
जति नै लोकप्रिय भएपनी चुनाव जित्न मत नै ल्याउनु पर्छ । सत्ता गठबन्धनले इमान्दारिता देखाएको खण्डमा कोईरालाले दोश्रो पटक प्रदेशमा प्रवेश गर्नेछन् । बिकास निर्माणमा पार्टी र व्यक्ती बिशेष भनेर भेदभाव नगरेका कोईरालाले गठबन्धन बाहेक अन्य दलको मत समेत तान्ने आंकलन गरिएको छ ।
यसर्थ चुनावी प्रचार प्रसारका क्रममा हु्ने आमसभा र घरदैलो कार्यक्रम मार्फत उम्मेदवारले जनतालाई कत्तिको प्रभाव पार्न सक्छन्, त्यसले पनि नजिता कसको पक्षमा जान्छ भन्नेमा भूमिका खेल्छ ।
#Election2079 #KhagarajAdhikari #DeepakKoirala #SachinRanabhat
Discussion about this post