लेखनाथ, २९ भदौं । अपाङगता मैत्री समाज कास्कीको अध्यक्षमा पुनः सन्त परियार चयन भएका छन । समाजको बुधबार सम्पन्न छैटौं साधारण सभा तथा दोश्रो अधिवेशनले आगामी तिन वर्षे कार्यकालका लागि सर्वसम्वत रुपमा परियारलाई अध्यक्षमा चयन गरेको हो ।
नवनिर्वाचित समितिको अध्यक्षमा सन्त परियार, उपाध्यक्षमा शुसिल गोदार, सचिवमा दण्डपाणि ढकाल, कोषाध्यक्षमा कृष्ण भुजेल, सह सचिवमा सुरेश थारु, सदस्यहरुमा रुपा तिवारी, चिजा गिरी, दुर्गा चापागाई र अजय तामाङ रहेका छन ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै छत्रशक्ति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं समाजसेवी प्रेम क्षेत्रीले चुनावका बेला विभिन्न राजनितिक दलहरुले अपाङ्गहरुको हक हितका लागी विभिन्न आश्वासनहरु बाँड्ने र पछि विर्सने गरेको वताए । उनले आफ्नो अधिकार प्राप्तीको लागि राजनितिक तहमा नै आवाज उठाउनुपर्ने वताउँदै यसप्रति सचेत रहनुपर्नेमा जोड दिएका थिए ।
यस्तै नेपाल शिक्षक महासंघ गण्डकीका सदस्य गंगाधर बरालले अपाङ्गता भएकै कारणले कोही पनि बालबालीका शिक्षा प्राप्त गर्न पाउने अधिकारबाट बञ्चित हुन नहुने वताउँदै आफ्नो अधिकार मागेर नभई खोसेर दिन सक्नुपर्ने वताएका थिए ।
कार्यक्रममा क्षेत्रीय सदस्य एवं पोखरा महानगरपालिका वडा नं. १४ कि सदस्य दिलमाया गुरुङले अपाङ्गता भएकाहरुलाई आफुले जहिले पनि पहिलो प्राथमिकता दिने गरेको वताउँदै वडाको तर्फबाट सक्दो सहयोग गर्ने वताएकी थिईन ।
कार्यक्रममा नेत्रहिन संघ गण्डकी प्रदेशका अध्यक्ष लक्ष्मण सुवेदी, लक्ष्मी मावि अर्घौंका सहायक प्र.अ. विष्णु तिवारी, पोखरा महानगरपालिका वडा नं. २९ की अध्यक्ष सुकमाया सुनार, समाजसेवी पदम बस्ताकोटी लगायतले बोलेका थिए ।
कार्यक्रममा सचिव दण्डपाणी ढकालले संस्थाको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने कमल थापा र तिलमाया केसी ले सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।
समाजका अध्यक्ष सन्त परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यसमिति सदस्य शुसिल गोदारले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन उपाध्यक्ष कृष्ण भुजेलले गरेका थिए ।
Discussion about this post