पोखरा, ७ फागुन । पोखरामा राष्ट्रिय विश्वकर्मा सङ्ग्रहालय बन्ने भएको छ । विश्वकर्मा समाज नेपालले पोखरा महानगरपालिका वडा नम्बर २२ को कोदि विश्वशान्ति स्तुपा जाने बाटोमा सङ्ग्रहालय निर्माण गर्न लागेको हो ।
संग्रहालयको शनिबार गण्डकी प्रदेश सरकारका माननीय अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले शिलान्यास गर्नुभयो । संग्रहालयको निर्माणले पर्यटन प्रवर्द्धन प्राचीन एवं परम्परागत कला र संस्कृतिको संरक्षण हुने मन्त्री बरालले बताउनुभयो ।
विश्वकर्मा समाज नेपालका केन्द्रिय अध्यक्ष गणेश बराइलीले प्राचीन समयमा पिता पुर्खाले वस्तु निर्माणमा प्रयोग गरेका अौजार र निर्मित बस्तु आदिलाई संग्रहित गरी प्रदर्शनमा राखिने बताउनुभयो । बराइलीले विश्वकर्मा समुदायको परम्परागत सीप, कला र औजारहरु पछिल्लो समय आधुनिकीकरण भई लोप हुने अवस्थामा पुगेकोले सङ्ग्रहालय निर्माण गरी संरक्षण गर्न लागेको बताउनुभयो ।
सङ्ग्रहालय निर्माणका लागि झण्डै ८६ लाख लागत लाग्ने अनुमान गरिएको छ । तर अहिले सम्म गण्डकी प्रदेश सरकारको दश लाख रकम मात्र रहेको समितिले जनाएको छ ।
संग्रहालय बाह्र रोपनी क्षेत्रफलमा निर्माण हुने भएको छ । निर्माण समितिका अनुसार संग्रहालयको उत्तरी-पूर्वी भागमा एउटा भवन निर्माण गरी विश्वकर्मा समुदायले गर्ने काम, पराम्परागत औजारको प्रदर्शन गरिने छ । जसमा हातहतियार बनाउने र फलामको काम गर्ने आरन, सुन चाँदीको गरगहना बनाउने औजार, तामा पित्तलका भाँडा बनाउने औजार, काठको भाडा बनाउने औजार र खानीबाट धातु निकालेर प्रशोधन गर्ने औजार राखिने छ ।
Discussion about this post