रामशरण नेपाली
लेखनाथ १८ भाद्र । लेखनाथ उद्योग बाणिज्य संघको स्थगित २५ औं साधारण सभा तथा १३ औं महाधिवेशन आगामी असोज २ गते हुने भएको छ । कोरोना महामारीको जोखीम कायमै रहेको वेला कास्कीका सिडियो थानेश्वर गौतमले अधिवेशनको कार्यक्रम रोक्न निर्देशन दिएपछि संघले भाद्र ११ गते सम्म भएका निर्वाचनका कार्यक्रमहरुलाई यथावत राख्दै अधिवेशन स्थगित गरेको थियो ।
बिहिबार मात्रै जिल्ला प्रशासन कार्यलय कास्कीले भदौं ३१ गतेसम्म निषेधाज्ञा थप गरेपनि सवारीमा यसअघि कायम गरिएको जोर विजोर प्रणाली हटाउनुका साथै संघ संस्थाहरुले नगरी नहुने सभा, सम्मेलन, बैठक आयोजना गर्न प्रशासनलाई अग्रिम जानकारी गराएर स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा पालना गरेर गर्न सकिने आदेश जारी गरेपछि संघले दाश्रो पटक अधिवेशनको मिति सार्वजनिक गरेको हो ।
अधिवेशन स्थगित भए पछि शुक्रवार बसेको कार्यसमिति बैठकले अनुरोध गरे बमोजिम निर्वाचन उप समितिले निर्वाचनको लागि आश्विन २ गतेको मिति तय गरेको हो । निर्वाचन कार्यक्रम लेखनाथ महोत्सव स्थल तालचोकमा विहान ७ः०० वजे देखि साँझ ५ः०० वजेसम्म हुने निर्वाचन आयुक्त हेमराज बरालले जानकारी दिएका छन ।
यस अघि संघको निर्वाचनको कार्यक्रम अन्तरगत उमेदवारी दर्ता देखि नमुना मत पत्र समेत प्रकाशन गरिसकिएको छ भने अध्यक्ष पदमा वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको मात्र उम्मेदवारी परेकाले आत्रेय निविरोध भईसकेका छन् । संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एशोसियट सदस्यमा पनि मेघराज पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
यसै गरि द्वितीय उपाध्यक्षमा वर्तमान महासचिव गोपिचन्द्र वाँस्तोला र वर्तमान कार्यसमितिका सदस्य शैलेन्द्र मोहन भट्टराईको उमेदवारी परेको छ । संघको महासचिव पदमा बर्तमान उपमहासचिव उपेन्द्रराज सुवेदी (राजु) र वर्तमान कार्यसमितिकी सदस्य मेनुका श्रेष्ठको उमेदवारी रहेको छ भने उपमहासचिवमा बर्तमान कोषाध्यक्ष जानुका अधिकारी र बर्तमान कार्यसमितिका सदस्य धिरजकुमार श्रेष्ठको उमेदवारी परेको निर्वाचन आयुक्त हेमराज बरालले जानकारी दिएका छन । सबैभन्दा धेरै उम्मेदवार आकांक्षी रहेको कोषाध्यक्ष पदमा बर्तमान कार्यसमितिका सदस्य भिम बहादुर नेपाली (काईला), भरत ओझा, रामजी पौडेल र दिलकुमारी शर्मा दाहाल समेत गरी चार जनाको उमेदवारी परेको हो ।
खुल्ला सदस्यका लागि २१ जनाको उमेदवारी परेको छ जसमा टिकाराम सापकोटा,भरत थापा, निर्मल पौडेल, हरि वस्ताकोटी,माधव तिवारी,ईन्दिरा रोक्का, प्रमोद भण्डारी, राजनकल्याण बडगामी, पुष्पमणि भण्डारी, ध्रुवबावु भट्टराई, खेमराज बराल, जिवन तिवारी, विक्रम कर्माचार्य, राधाकृष्ण अधिकारी, कृष्ण बहादुर अधिकारी, सुरेन्द्र त्रिपाठी, ईन्द्र बहादुर थापा, विरेन्द्र भण्डारी, कुलबहादुर रानाभाट, बुद्धि प्रसाद बाँस्तोला र लक्ष्मी प्रसाद ढुगाना रहेका छन् ।
यसैगरि महिला सदस्यहरुमा गंगा मल्ल, तुलसी थापा क्षेत्री, रञ्जना बराल शान्ति कुमारी खनाल र बुद्धि कुमारी मगरको उमेदवारी परेको छ । संघको निर्वाचनका लागि एक हजार सात सय ३६ जनाले मतदान गर्न पाउने छन् ।
Discussion about this post