सचिन रानाभाट / साउन १२, लेखनाथ — ‘कोभिड फ्रन्टलाइनर’हरुको स्मृतिमा पोखरा ३१ वेगनासतालमा मुरल बनाईएको छ। वेगनासताल नजिकै रहेको गोदामको भित्तामा कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सरसफाइमा खटिएकाहरूको चित्र कोरिएको छ । उक्त मुरल संगै कोरोना महामारीले विश्व आक्रान्त पारेको र मास्कले सुरक्षित बनाउन सहयोग गर्ने अर्को प्रतीकात्मक तस्विर समेत बनाईएको हो। पोखरा २९ का बिबेक गुरुङ र उनको टिमले करिब ५ दिन लगाएर उक्त पेन्टिङ बनाएका हुन्।
कोरोनाको महामारीमा क्रममा अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरुप्रति माया र सम्मान व्यक्त गर्दै उनीहरूको काममा थप हौसला मिलोस् भनेर भित्तामा उक्त कला बनाइएको वेगनास युवा क्लवका अध्यक्ष निराजन बरालले बताए । कलाका माध्यमबाट नागरिकस्तरबाट अग्रपंक्तिमा खटिनेलाई थोरै भए पनि मनोबल बढाउने काम यस कलाले गरेको उनको भनाइ छ । नेपालको झण्डा, प्रहरी, डाक्टर र नर्स, जनपथ प्रहरीका सुरक्षाकर्मी, शव व्यवस्थापनमा खटिएका सैनिक ,सञ्चारकर्मी र सरसफाइमा खटिएका व्यक्तिहरूको चित्र तथा पृथ्वीका मानिसहरूलाई मास्कले सुरक्षित गर्न खोजेको चित्र मुरलमा समेटिएको छ ।
तस्विर : शंकर कोईराला/ लेखनाथ खवर
Discussion about this post