दुलेगौडा । शुक्लागण्डकी नगरपालिकामा कोरोना संक्रमितका लागि लक्षित गरि पाँच बेडको कोभिड अस्थायी अस्पताल स्थापना गरिएको छ । सरकारले प्रत्येक स्थानीय तहमा पाँच बेडको कोभिड अस्थायी अस्पताल निर्माण गर्नुपर्ने निर्देशन दिएपछि यहाँ अस्पताल स्थापना गरिएको स्वास्थ्य शाखा शुक्लागण्डकीका प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।
अस्पताल खैरेनीटार हेल्थपोष्टको भवनमा स्थापना गरिएको छ । हेल्थपोष्ट हाताभित्र रहेको अस्पतालमा कोरोना संक्रमित भई होम आइसोलेशनमा बस्ने सुविधा नहुनेहरुले राखिने छ भने अस्पताल भर्ना हुनुपर्ने समस्या भएकाहरुलाई उपचारका लागि अस्थायी अस्पतालमा राखेर सेवा गरिने शाखा प्रमुख श्रीवास्तवले जानकारी दिए ।
संघीय सरकारबाट उपलब्ध भएको १० लाख रुपैयाँ बजेट मार्फत तयार भएको अस्पतालमा हाल कुनै पनि संक्रमित नभएको कोभिड फोकल पर्सन नवराज गौतमले जानकारी दिए ।
यसैगरी शुनपा–५ स्थित जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा स्थापित कोभिड युनिट पनि खालि भएको छ । सङ्क्रमितहरुलाई राखिएको क्षेत्रमा अहिले सरसफाई शुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. राम कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार तनहुँका १० वटा पालिकाका २ सय ७७ जनालाई अस्पतालको आइसोलेसन कक्षमा राखिएको थियो । यसमध्य करिव १५ जनालाई विभिन्न अस्पताल रिफर गरिएको अस्पतालले जनाएको छ ।
Discussion about this post