चितवन । विश्वकै दुर्लभ एकसिङ्गे गैंडाको अस्वाभाविक प्राकृतिक मृत्यु र बढ्दो चोरी तस्करीबारे संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सौराहामा छलफल गरिरहेकै बेला सोमबार अर्को एक गैंडा मरेको समितिले जानकारी दिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको भित्री इलाका रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारमा ३५ वर्षको भाले गैंडा मृत फेला परेको थियो । खाग र खुर सुरक्षित रहेकाले सो गैंडा बुढो भएर कालगतिले मरेको अनुमान गरिएको छ । योसँगै चालु आर्थिक वर्षमा ४ गैंडा चोरी शिकारी र १३ गैंडा निकुञ्जले भन्ने गरेको ‘प्राकृतिक कारणबाट मरेका छन् ।
गैंडा धमाधम मर्न थालेपछि स्थलगत अध्ययनका लागि संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सौराहा आयो । समितिले गत आइतबार निकुञ्ज मुख्यालय कसरामा निकुञ्जका अधिकारी र सेनाका गणपतिसँग तथा सोमबार सौराहामा स्थानीय निकायका प्रतिनिधि तथा अन्य सरोकारवालसँग छलफल गर्यो ।
समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वको टोलीले गैंडा मर्ने र मार्ने क्रम बढेकाले यो निकै चिन्ताको विषय भएको भन्दै सुझावसहित सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । समिति सदस्य शान्ता चौधरीले गैंडाको सुरक्षाका लागि नीतिगत, कानुनी र अन्य केही समस्या भए जानकारी लिने र सरकारलाई आवश्यक निर्देशन तथा सुझाव दिने बताइन् ।
Discussion about this post