म समाजसेवामा रुची राख्ने मान्छे । कोरोनाको महामारीमा पनि मैले थुप्रै सामाजिक कार्यहरु निरन्तर रुपमा गरी रहेको थिए । त्यसै बीच मलाई कोरोना सङ्ग मिल्ने केही लक्षणहरु देखा पर्यो । खानाको स्वाद हरायो र शरीर दुख्न थाल्यो । शंका लागेर कातिक १७ गते पिसिआर टेस्ट गराए र मेरो २० गते पोजेटिभ रिपोट आयो । म छाँगा बाट खसे जस्तै भए । सतर्कता पनि अपनाएको थिए कहाँबाट कसरी संक्रमण सर्यो भन्ने अनुमान लगाउन सकिन । घरपरिवार सबै त्रसित भए तै पनि दिदी आफै कोभिड वार्डको स्टाफ भएकाले उहाँले नै होम आईसोलेसमा बस्न सबै आवश्यक पर्ने सामग्री मिलाईदिनु भयो । २५ दिनसम्म आईसोलेसनमा बसेर निस्किए । अहिले पूर्ण रूपमा स्वास्थ्य छु । होम आईसोलेसनमा बसेर नै कोरोना जित्न सफल भए ।
मेरो अनुभवमा आहार, व्यवहार र विचारलाई तन्दुरुस्त राख्दा रोगसँग सहजै जित्न सकिने रहेछ । आईसोलेशनमा बस्दा खानपान र सरसफाईमा निक्कै ध्यान दिने र ताजा र प्रोटिनयुक्त खानेकुरा, फलफूल, दुध, सागपात, गेडागुडी खाने, तातोपानी, कागती पानी, अदुवा र बेसारपानी, गुर्जो पानी , लसुन, मरिच,दालचिनी जस्ता घरेलु औषधी नियमित रुपमा लिने ।
रोगसँग जित्ने कुरा संक्रमितकै हातमा हुन्छ । मनमा सकारात्मक सोच्ने, आत्मबल बलियो बनाउने, योग, ध्यान, व्यायाम गर्ने ताजा खाने कुरा खाने हो भने र आत्मलाई शान्त, खुशी र सुखी बनायो भने सजिलै रोगलाई जित्न सकिने रहेछ ।
रोगसँग लड्न आत्मबल त चाहिन्छ नै त्यो भन्दा पनि बढी परिवारको माया र सामाजिक सद्भाव जरुरी हुँदो रहेछ । आफन्त, दाजुभाइ, इष्टमित्र, शुभचिन्तक र समाजका मानिसको सद्भावले रोगसँग लड्ने शक्ति मिल्दो रहेछ, उहाँहरुको भावनात्मक र मनोसामाजिक सहयोग नै रोग जित्ने आधार बन्दो रहेछ ।
शभेच्छुक, शुभचिन्तकहरुको फोन, म्यासेजले निक्कै सहयोग पुग्दै रहेछ । आत्मबल नै मेरो कोरोना जित्ने औषधि बन्यो ।
संक्रमितहरुलाई हाम्रो समाजले हेर्ने दृष्टिकोण केही गलत भएकाले त्यसमा परिवर्तन हुनुपर्ने जरुरी छ । संक्रमितहरुको सकिन्छ हौसला बढाउ , सकिन्न भने मनोबल कमजोर बनाउने प्रयास नगरौं । समाज सकारात्मक भयो र परिवारको माया पायो भने लक्षण देखिएका संक्रमितले पनि सहजै कोरोना जित्न सक्छ ।
Discussion about this post