दमौली । तनहुँको ब्यास नगरपालिकाले नगरपालिकाको विकास गर्दा जनताको माग र चाहानालाई प्राथमिकता दिने निर्णय गरेको छ । नगरपालिकाले आगामी विकास योजना तथा कार्यक्रम निर्माण गर्दा नागरिकको सुझाव संकलन गरेर मात्र योजना तथा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले योजना निर्माण गर्नुपूर्व नागरिकहरुको मत सर्वेक्षण गर्ने निर्णय गरेको हो । जनचाहना अनुरुपमा योजना सम्पन्न गर्न मद्धत पु¥याउन मत सर्वेक्षण गर्ने निर्णय भएको व्यास नगरापलिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाबाट जारी भएको विद्यालय सञ्चालन सहजीकरण निर्देशिका बमोजिम नै विद्यालयहरु संचालन गर्ने निर्णय गरेको छ । विद्यमान चुनौतीपूर्ण अवस्थामा नगरपालिकाबाट जारी भएको सहजीकरण निर्देशिका २०७७ बमोजिम नै विद्यालयहरु सञ्चालन गर्ने र वडा समितिबाट सामुदायिक तथा संस्थागत विद्यालयहरुको अनुगमन गर्ने र नगर शिक्षा समितिले त्यसको सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ ।
कोरोना भाइरस कोडिभ १९ का कारण दशै तिहारलाई नै लक्षित गरी नगर क्षेत्रका विद्यालयहरु बन्द भएका थिए । व्यास नगरपालिका युवा परिषद नियमावली २०७७ पारित गर्ने निर्णय समेत बैठकले गरेको छ । मानुङ क्षेत्रको पर्यटन प्रबद्र्धनको बाटो खुलेको भन्दै त्यसलाई थप विकास गर्न मानुङ जाने ढलान भएको बाटोमा फलामको रेलिङ राख्न गण्डकी प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय बैठकले गरेको छ ।
मानुङमा पिउने पानीको लिफ्टिङ योजना संचालन गर्न र पर्यटनहरु आराम गर्न सेड निर्माण गर्न सहयोग माग गर्ने निर्णय समेत बैठकले गरेको छ । ४३ महिनाको कार्यकालमा नगरक्षेत्रभित्र उल्लेखनीय रुपमा काम भएको र भावी कार्यक्रमहरु समेत निरन्तर रुपमा अगाडि बढाइने जनाईएको छ ।
वातावरण मन्त्रालय वातावरण विभागको कार्तिक २५ को निर्णय अनुसार माग भए बमोजिम फोहोर मैला व्यवस्थापन कार्यक्रम साझेदारीमा संचालन गर्ने गरी प्रस्ताव पेश गर्ने निर्णय बैठकले गरेको विज्ञप्तीमा उल्लेख छ ।
चालु आर्थिक वर्षको ४ महिनामा नगरपालिकाबाट विभिन्न वडामा १ सय ८४ वटा क्रमागत र १ सय १५ वटा नयाँ योजनाहरु सम्झौता भई निर्माणको प्रक्रियामा रहेको समेत प्रवक्ता श्रेष्ठद्धारा विज्ञप्तीमा जनाईएको छ ।
Discussion about this post