दमौली । जिल्लाका बजार क्षेत्रमा रहेका पाउरोटी, दुनोट तथा निमकिनका पसलले अखाद्य तेल प्रयोग गर्ने गरेको खुलेको छ ।
जिल्ला प्रशासनको नेतृत्वमा गरिएको अनुगमनका क्रममा खुलेको हो । व्यास २ उत्तरशिला लाईनका तीनवटा पाउरोटी पसलमा मापदण्ड पालना नगरी सञ्चालन गरेको पाइएको छ ।
अनुगमन टोलीले माला पाउरोटी उद्योगमा दुनोट बनाउन प्रयोग भएको तेल अखाद्य पाएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उद्योगसँगै नजिकका अरु दुई उद्योगमा पनि सरसफाई नपुगेको र आवश्यक मापदण्डसमेत नपुगेको उहाँले बताउनुभयो । मापदण्ड पालना नगर्ने उद्योगलाई जरिवाना गराइने भएको छ ।
अनुगमनका क्रममा सोमबार आधा दर्जन होटलबाट स्थानीय मदिरा पनि जफत गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।
उत्तरशिला लाईनका अनुगमन गरिएका अरु होटलमा पनि सरसफाईको अवस्था कमजोर पाइएको प्रशासनले जनाएको छ । यति बेला प्रशासनको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घका पदाधिकारी, सञ्चारकर्मी लगायतको सहभागितामा अनुमगनलाई तिब्रता दिईएको छ ।
चाडपर्वको बेला भएको यतिबेला भिडभाड बढ्ने र उपभोक्ता नठगिउन् भनेर अनुगमनलाई तिब्रता दिईएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।
Discussion about this post