दमौली । तनहुँमा मौरि पालक कृषकहरुलाई तालिम दिइएको छ । मौरिको मह उत्पादनमा बृद्धि गर्ने उदेश्यले कृषि ज्ञान केन्द्र तनहुँले मौरि पालक कृषकहरुलाई तालिम प्रदान गरेको हो ।
उत्पादनसँगै महको व्यवसायिक विस्तारको लागि अगुवा किसानलाई तालिम सञ्चालन प्रदान गरिएको केन्द्रले जनाएको छ । तालिममा केन्द्रका प्रमुख कुलप्रसाद तिवारी, मौरीपालक कृषक कृष्ण गुरुङ र राजेश्वर सिलवालले प्रशिक्षण दिनु भएको छ ।
तीन दिने तालिममा २५ जना सहभागी रहेका थिए । मौरी पालनको महत्व, जातको पहिचान, मौरीको सामाजिक जीवन, उमेर अनुसारको कार्य विभाजन, मौरीको जीवनचक्र, मौरीको गृह त्याग, मौरीको घार तथा पालन सम्बन्धि व्यवस्थापनबारे जानकारी दिईएको छ ।
तालिममा आहारा व्यवस्थापन, मौरीको शत्रुहरुको पहिचान, परम्परागत घार र आधुनिक घारका फाईदा, मौरी पालनमा प्रयोग हुने उपकरणको पहिचान लगायतका बारेमा जानकारी दिन तालिम प्रदान गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार कृषकको मागको आधारमा तालिम प्रदान गरिएको हो । तालिम आइतबारबाट मंगलबार सम्म सञ्चालन भएको केन्द्रले जनाएको छ ।
Discussion about this post