हरि खरेल, दुलेगौडा । शुक्लागण्डकी नगरपालिका क्षेत्र भित्र कोरोना संक्रमितहरुको संख्या तिव्र गतिमा बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मात्र २२ जनामा संक्रमण पुष्टि भएपछि स्वास्थ्य शाखाले संक्रमणको स्थिती नियन्त्रण भन्दा बाहिर गएको जनाएको छ ।
विहिबार एक कार्यक्रम गरि स्वास्थ्य शाखा शुक्लागण्डकीले कोरोना न्यूनिकरणका लागि गरिएको हालसम्मको निर्णय पर्याप्त नभएको जनाएको छ । स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले शुक्लागण्डकी नगर क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर भएको जानकारी दिदै सचेत रहन नागरिकहरुलाई आग्रह गर्नुभएको छ ।
उहाँले नगरभित्रका रहेका मेडिकल तथा क्लिनिकहरुमा दैनिक २० जना बढी ज्वरो र श्वासप्रश्वासका विरामीहरु चेकजाँचका लागि पुग्ने गरेको भन्दै संक्रमण फैलदो क्रममा रहेको बताउनुभयो । स्वास्थ्य शाखाले गरेका अनुगमनमा नागरिक स्तरमा सचेतनाका मापदण्डहरु पालना नभएको पाएकाले जोखिम न्यूनिकरण नभएको उहाँले बताउनुभयो ।
श्रीवास्तवले स्वास्थ्यकर्मीहरुदले नै मास्क, पञ्जा र स्यानिटाइजर लगायतका सुरक्षा सामाग्री प्रयोग नगरेको भन्दै कोरोना संक्रमणलाई सामान्य रुपमा नबुझ्न आग्रह गर्नुभयो । “हामी आजै देखी सर्तक रहौं” उहाँले भन्नुभयो, “हेलचक्राई गदै गईयो भने यसलाई नियन्त्रणमा लिन गाह्रो छ, हाल यो कन्ट्रोलभन्दा बाहिर जादै छ ।”
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रबक्ताा खिम कुमालले नागरिकहरु स्वय सचेत हुनुको विकल्प नभएको बताउनुभयो । उहाँले बजार बन्द गरेर मात्र संक्रमण नियन्त्रणमा नआउने भएकाले ब्यक्ति सेचत हुनुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य शाखाले नगर क्षेत्र भित्रका मेडिकलहरुसँग समन्वय गरेर संक्रमितहरुको पहिचान गर्ने र उद्योग बाणिज्य संघलाई ब्यवसायीहरुलाई सुरक्षित रुपमा सेवा प्रवाह गर्न आग्रह गर्ने निर्णय गरेको छ । वाणिज्य संघले ब्यवसायीहरुको लागि सुचना प्रवाह सहित अनुगमन गरेर स्वास्थ्य सुरक्षाको मापदण्ड लागु गर्न पहल गर्ने जनाएको छ ।
Discussion about this post