तनहुँ खबर संवाददाता
कार्तिक ६,दुलेगौडा
कोरोनाको माहामारी पश्चात आय स्रोत गुमाएका परिवारलाई शुक्लागण्डकी नगरपालिकाका दुई क्लवको पहलमा स्थापित फुड बैकले खाद्यान्न सामाग्री वितरण गरेको छ । माहामारि पश्चातको समस्या समाधान गर्नका लागि शुक्लागण्डकी युनेस्को केन्द्र र शिलादेवि युवा क्लवले एक महिना अघिदेखि फुड बैक सञ्चालनमा ल्याएका थिए ।
बुधबार नगरपालिकाको पुलचोकमा रहेको सुकुम्वासी बस्तीका ४८ परिवारलाई खाद्यान्न प्रदान गरिएको थियो । यस्तै फुड बैक मार्फत नै हलेदीका ४६ परिवारलाई पनि खाद्यान्न वितरण गरिएको क्लवका सचिव हरि खरेलले जानकारी दिनुभयो ।
दशैको समय खाद्यान्नका कारण भोकै बस्नुपर्ने स्थिती सिर्जना नहोस् भन्ने हेतुले आफुहरुले सहयोग जुटाएर खाद्यान्न वितरण गरेको केन्द्रका अध्यक्ष भिष्म श्रेष्ठले बताउनुभयो ।
“आर्थिक अवस्थाकै कारण दशै खल्लो नहोस भन्दै नगरका गरिब,असक्त, एकल महिला, खोलामा काम व्यक्तिहरुलाई मध्यनजर गरी खाद्यान्न वितरण गरेका हौ,” श्रेष्ठले भन्नुभयो ।
विशेष गरेर दशैको बेलामा कोरोनाको कारण रोजगार बिहिन भएका व्यक्तिहरु रोगले नभई भोकले मर्ने बाध्यता सिर्जना नहोस भन्दै फुड बैकं स्थापना गरी सहयोग गरेको शिलादेवी युवा क्लबका अध्यक्ष संजोक घलेले बताउनुभयो ।
क्लवद्धारा स्थापित बैकले दैनिक ज्यालादारी गर्ने, अशक्त, एकल महिला र रोजगारीमा पहुँच नभएका परिवारहरुलाई सहयोग गर्दै आएको छ ।
“हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ” नारा सहित स्थापित भएको बैकमा नगरपालिका भित्रका ब्यवसायि, वैदेशिक रोजगारमा गएका युवा, समाजसेवि लगायतले सहयोग दिएका छन् ।
Discussion about this post