गलेश्वर । सरकारले सुलभ र सहज शिक्षाको पहुँच गाउँगाउँमा पु¥याउने नीति लिएको भए पनि हिमाली जिल्ला म्याग्दीका विकट गाउँका बालबालिका अझैसम्म पनि दैनिक ४ घण्टा पैदल हिँडेर विद्यालय जान–आउन बाध्य छन् ।
म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका र रघुगङ्गा गाउँपालिकाका बालबालिका ४÷४ घण्टा पैदल हिँडेर विद्यालय जान–आउन बाध्य भएका हुन् । अन्नपूर्ण गाउँपालिका–१, दोवा औलका ५ वर्षीय बादल पुर्जा बिहान उठ्ने बित्तिकै हतारहतार लुगा लगाएर बिहान साढे ७ बजे विद्यालय जान्छन् । घरबाट विद्यालय पुग्न पुर्जासँगै ५ वर्षीय मेञ्जु पुन र खुशी सुनारलाई कैशाल माविमा पुग्न करिब दुई घण्टा लाग्छ । गाउँमा विद्यालय नभएपछि पढ्नका लागि बारजरा र सल्लेरी सामुदायिक वन, फाँट हँुदै जोखिम मोलेर केही अभिभावकसँगै र कोही माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीको सहयोगमा हतार–हतार गरी विद्यालयमा पुग्ने गरेका छन् ।
गाउँ नजीक रहेको सुनारी आधारभूत विद्यालयमा पुग्न खोलाको बाटो र बालबालिकाको ज्यानकै जोखिम मोल्नुपर्ने बाध्यताले विद्यार्थीले दोबा गाउँस्थित विद्यालयमै जानुपर्ने अवस्था रहेको स्थानीय युवा जगत गर्वुजाले बताए । यस्तै बाध्यतामा छन्, रघुगङ्गा गाउँपालिका–६ अमर माविमा कक्षा ९ मा अध्ययनरत ठाडाखानीका कमल छन्त्यालको । छन्त्याललगायत रायखोरकी सुस्मा शेरपुञ्जा, उदिन रोका, विना शेरपुञ्जा पनि दैनिक चार घण्टा हिँडेर विद्यालय आउजाउ गर्न बाध्य छन् । “कलिला बालबालिका थकानका कारण कक्षा कोठामै सुत्छन्”, स्थानीयवासी जगत गर्बुजाले भने, “उनीहरू पैदल हिँडेर स्कुल ओहोर–दोहोर गर्न बाध्य छन् ।” गर्वुजाका अनुसार उकालो बाटो र जङ्गलका कारण बालबालिकालाई जङ्गली जनावरको समेत खतरा रहने गर्छ ।
गाउँ आसपासबाट दैनिक ४० विद्यार्थीलाई बिहान ८ बजे नै घरबाट हिँड्नुपर्ने बाध्यता भएको गर्बुजाको भनाइ छ । “घर आयो थकाइ लागेको हुन्छ । होमवर्क गर्दागर्दै निन्द्रा लाग्छ”, अमर माविमा कक्षा ९ मा अध्ययनरत कमल छन्त्यालले भने । उनले चाहेर पनि राम्रोसँग पढ्ने समय नै नहुने गुनासो गरे । विद्यालयमा करिब ३५÷४० विद्यार्थीले दैनिक पैदलयात्रा गरी विद्यालयमा आउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक युकुमार गर्बुजाले बताए । “विद्यार्थीले पढ्ने समय नै पाएका छैनन्”, उनले भने, “दैनिक चार घण्टाको आवतजावतको प्रत्यक्ष असर पढाइमा देखिन्छ ।”
त्यस्तै मङ्गला गाउँपालिकाको मङ्गला मावि, मालिका गाउँपालिकाको जनप्रिय माविमा समेत करिब डेढ घण्टासम्म पैदलयात्रा गरी विद्यार्थी पढ्न आउने गरेको सो विद्यालयले जनाएको छ । केही अभिभावकले मोटरसाइकलमा आवतजावत गर्ने गरे पनि अधिकांश विद्यार्थी पैदलमार्ग हुँदै विद्यालयमा पुग्ने गरेका छन् । “उकालो बाटोमा निकै थकानका साथ पुग्नुपर्दा पठनपाठनमा समेत असर परेको छ”, मङ्गला माविका कक्षा ६ मा अध्ययनरत बिमल पुर्जाले भने, “बिहानमा किताब हेर्न पाइँदैन ।” उनले गाउँबाट विद्यालयसम्म पुग्ने सवारीसाधनको व्यवस्था भएमा सहज हुने बताए । कलिला बालबालिका हिँड्न नसक्ने भएकाले माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीले बोकेर लैजाने गरेको विद्यार्थीको भनाइ छ ।
Discussion about this post