कपिलवस्तुको कृष्णनगरमा भएको झडप र त्यसपछि प्रहरीले चलाएको गोली लागेर ज्यान गएको पहिचान खुलेको छ । प्रहरीको गोली लागेर ज्यान गएको व्यक्ति भारतीय नागरिक सुरजकुमार पाण्डे भएको खुल्न आएको हो । ज्यान गएको पाण्डेले नेपाली भूमिमा चिया पसल सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।
लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा बुधबार साँझदेखि नै दुई समुदायबीच विवाद भएको थियो । प्रहरीका अनुसार हिन्दु समुदायका व्यक्तिले लक्ष्मीपूजाको मूर्ति विसर्जनका लागि झण्डीनगरको बाटो प्रयोग गरेका थिए । तर, मुस्लिम समुदायले त्यस क्षेत्रमा धेरै मदरसा भएको भन्दै अर्कै बाटो प्रयोग गर्न सुझाएका थिए । त्यही विवादले उग्र रुप लिएर झडपको स्थिति आएको प्रहरीको भनाइ छ ।
विवादलाई साम्य पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो । तर, स्थानीयको आक्रमणबाट ३ जना प्रहरीसमेत घाइते भएपछि गोली चलाएको प्रहरीले दावी गरेको छ । कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर र पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ ।
Discussion about this post