काठमाडौंको चन्द्रागिरी १० मा रहेको चक्लेट गोदाममा जिल्ला प्रशासनको बजार अनुगमन टोलीले छापा हानेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, बजार अनुगमन शाखा, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभाग, गुणस्तरीय तथा नामतौल विभागको कार्यालयको टोलीले चन्द्रागिरीमा रहेको चक्कलेट गोदाममा छापा मारेको हो ।
जिल्ला प्रसाशन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजनमा म्याद नाघेको र गुणस्तरहीन चक्लेटहरु फेला परेपछि चक्कलेट गोदाममा शिलबन्दी गरिएको छ ।
जिल्ला प्रसाशन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले विनित अग्रवालले सञ्चालन गरेको सूयस ईन्टनेश्नल प्रालिमा म्याद गुज्रिएका, डबल स्टिकर टाँस गरिएका र मानब स्वास्थ्यमा प्रतिकुल असर पार्ने चक्कलेट गोदाममा छापा मारी शिलबन्दी गरिएको बताए ।
चोकीचोकी, कोपिको ब्राण्डका म्याद नाघेका ४ हजार कार्टुन चक्कलेट गोदामभित्र बिक्रीका लागि पठाउने तयारी भइरहेको सूचनाका आधारमा टोलीले छापा हानेको थियो ।
गृह मन्त्रालयले अनुचित फाइदा लिने मनसायले ठगी गर्ने, कानून मिच्ने, गुणस्तरहीन सामान बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कानून अनुसार कारवाही गर्ने ज्ञापन–पत्र निकालेर चेतावनी समेत दिएको थियो ।
Discussion about this post