सिसडोल र बन्चरेडाँडाका स्थानीय जनप्रतिनिधिहरुले काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन ।
धुनिबेँसी नगरपालिका र ककनी गाउँपालिकाले स्थानीय जनतासँग गरिएका कुनै पनि सहमति हालसम्म कार्यान्वयनमा नआएको भन्दै काठमाडौंको फोहोर सिसडोल र बञ्चरेडाँडामा व्यवस्थापन नगर्न नदिने चेतावनी दिएका हुन् । संघीय संसदको विकास तथा प्रविधि समितिले सो सम्बन्धमा सरोकारवाला निकायसँग बोलाएको छलफलमा भाग लिँदै धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले आश्वासन दिने तर कामै नगर्ने सरकारले स्थानीय जनतालाई पटकपटक झुक्याएको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो ।
बैठकमा ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलका जनतामाथि काठमाडौंले अन्याय, अत्याचार गरेको उल्लेख गर्दै अव त्यहाँ फोहोर हाल्न नदिने चेतावनी दिनु भयो ।
यता, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने काठमाडौंको फोहोर व्यवस्थापनको काम राष्ट्रिय समस्या भएकाले यसको समाधानका लागि पनि राष्ट्रियस्तरकै छलफल हुनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सिसडोल र बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
सिसडोल र बञ्चरेडाँडाका स्थानीयले काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएपछि संघीय संसदको विकास तथा प्रविधि समितिले सो समस्याको दीर्घकालीन समाधानका उपायको खोजी गर्न सरोकारवाला निकायसँगको छलफललाई पनि अघि बढाएको हो ।
Discussion about this post