गैर आवासीय नेपालीहरुको संस्था एनआरएनको चुनावको माहोल विभिन्न देशहरुमा भइरहेको छ । लाखौंको संख्यामा नेपालीहरु संसारमा छरिएर बसेका छन् । त्यसैले गैर आवसीय नेपालीका विषय र मुद्धामा पनि समय सापेक्ष चर्चा आवश्यक छ । संसारका विभिन्न देशमा कतै उम्मेद्वारी घोषणा, कतै निर्वाचन, कतै मतगणना, कतै विजेताहरुको उद्घोष चलिरहेको छ ।
विकसित देशहरुमा पुगेका नेपालीहरुलाई त्यति समस्या हुँदैन र नेपाली संघ संस्थाको आवश्यकता पनि त्यति सारो महशुस हुँदैन । प्राय देशहरुमा एनआरएन पदाधिकारीहरुप्रति मानिसको असन्तुष्टी पनि देखिन्छ । आज ठूला विकसित देशहरुमा एनआरएनको स्थिती, आवश्यकता, भूमिकाबारे चर्चा गरौं ।
अति विकसित देशमा रहेका नेपालीहरुलाई त्यति धेरै सहयोगको आवश्यकता पर्दैन । एजुकेशन हेल्थकेयर, जस्ता कुरा सबको पहुँचमा हुन्छ । राजेगारी क्षमता अनुसार पाइहालिन्छ । बेरोजगार भएपनि भत्ता मिल्छ । कागजपत्र नभएका दाजुभाई, दिदीबहिहीलाई कानूनी सहयोग, नयाँ–नयाँमा काम र डेरा नपाउन्जेल खाने बस्ने सहयोग बाहेक कुनै संस्थाको खासै काम देखिदैन ।
बाँकी भनेको दशै, तिहार, तीज, नयाँ बर्ष, छठ, क्रिशमसमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने नै हो । समग्रमा भन्दा समय भएको र यसो पैसा कमाएको मान्छेले दिने सेवा मात्रै हो यो । तर आश्चार्य त त्यतिबेला लाग्छ जब विदेशमा भएका साथीहरु समेत नेपालमा भएका राजनीतिक दलको खेमामा बाँडिन्छन् ।
राजनीतिक आस्था राख्न पाइन्छ तर सात समुद्र पारी दुख गर्न, पढाई पूरा गर्न गएका नेपाली नेपालीबीच एनआरएन चुनावका लागि पानी बाराबार चाँही किन हुनुपरेको होला । कोही नेपाली कांग्रेस खेमाका उमेद्वार, कोही नेकपा खेमाका उमेद्वार रे !
नेपालमा हुँदा कांग्रेस, कम्युनिष्ट समर्थकले त्यो विदेशी भूमिमा पनि एनआरएनको उमेद्वार कांग्रेसी र कम्युनिष्ट नै खोज्नु किन परेको हो ? त्यो मैले १४ बर्ष विदेश बस्दा पनि बुझिन । विदेश गैसकेपछि त्यहाँको नेपाली समाजलाई योगदान दिएको गुण भएर उमेद्वार बन्ने योग्यता र क्षमता किन नपुगेको ?
दलको दलदलमा विदेशमा समेत फसेका छन्, नेपालीहरु । अनि चुनाबका बेला हुने रमाइलो झन् बेग्लै छ । समाजको प्रतिष्ठित कुनै मानिससँग भोट बैंक नै हुन्छ । गन्यमान्य उक्त व्यक्तिले भनेपछि उनलाई मान्नेले उनले जसलाई भोट दिनु भन्यो, उसैलाई भोट दिन तयारहरुको हुल छ । विदेश पुगेर त्यतिका कुरा सिकेको जानेको व्यक्ति आफ्नो विवेकको प्रयोग गर्दैन ।
अर्काले फलानोलाई भोट हाल्नु भनेको खुरुखुरु मान्छ । कतिपय शहरहरुमा त हात हालाहाल समेत हुन्छ । सदस्यता लिन तिर्नुपर्ने १०÷२० डलर पनि उमेदवारले नै खर्च गरिदिन्छ । समय पैसा खर्च गरेर आफ्नै नेपालीलाई परदेशमा दुश्मन ठानेर चुनाव जितेपछि गर्ने चाँही के भनेर बुझ्दा मुलरुपमा उही आसन र भाषण !
सामाजिक कार्य गर्ने मनसाय भएर विदेशमा संघसंस्था खोल्नु त्यसका लागि पदाधिकारीहरु चुनाव गरेर छान्नु गलत हुँदै होइन । तर त्यति सानो पदका लागि भएभरको दिमाग लगाएर राजनीति गर्नु, दुखले कमाएको पैसा अनावश्यक खर्च गर्नु अनि आफ्नै नेपालीसँग झैँ–झगडा र दुश्मनी मोल्नु आवश्यक छैन ।
युरोप, अमेरिका, जापान, अष्टे«लिया, क्यानाडामा के को कांग्रेस, के को नेकपा, के को राप्रपा, के को फोरम ? प्रतिस्पर्धा हुन्छ तर, अस्वस्थ्य प्रतिस्पर्धा नगरौँ । स्टेजभरी कुर्सी थप्दै, भित्र देखिएका जत्तिलाई आसनग्रहण गराउँदै गर्दा हलमा भन्दा स्टेजमा मान्छे बढी हुन गैरहेका छन् ।
सम्बोधन मै २५/३० जनाको नाम लिदाँ पट्यार लाग्दो हुन्छ । दुख पाएका नेपालीलाई संस्थाका पदाधिकारीहरुले भन्दा कुनै संस्थामा नै नभएका मनकारी नेपालीले बढी सहयोग गरेका थुप्रै उदाहरण छन् । अन्य देशका इमिग्रेन्टहरु ४ जना जम्मा हुँदा कसरी व्यापार बढाउने ? कुन विजनेश किन्ने ? कसरी अझै प्रगति गर्ने ? भनेर सल्लाह गर्छन । तर हामी नेपालीहरु ४ जना जम्मा हुँदा कुन संघ वा संस्था खोल्ने ? अध्यक्ष को बन्ने ? उपाध्यक्ष, महासचिव को बन्ने ? भन्नेमा नै अल्झिन्छौ ।
नेपालको राजनीति विदेशमा काम लाग्दैन । नेपालबाट आउने नेताले पनि तपाईको गाडीमा घुम्न पाउने घरमा बस्न पाउने, फर्किदा सपरिवारलाई गिफ्ट पाउने भएर मात्र तपाईलाई भ्यालु दिएको हो । पर्मानेन्टली नेपाल आउनु भो भने दिनभरी कुर्दा पनि भेट्न पाउनु हुन्न ।
त्यसैले सात समुद्र पारी पुगेका नेपालीहरु कांग्रेस, कम्युनिष्ट होइनन् नेपाली मात्र हुन, नेपाल आमाका सन्तान । सामान्य ढंगले चुनाव गरौं, योग्य, अलिकति आर्थिक हिसाबले पनि सम्पन्न र समय प्रसस्त भएको जो–कोहीले जितेपनि फरक पर्दैन । विदेशमा हुनुहुन्छ, विवाद झगडा र हानाहान भएको समाचारले यता आमाको छात्ति चिरिन्छ साथी हो ।
त्यहा गरेको राजनीतिले यहाँ मन्त्री पनि त बनिदैन । देशलाई पर्दा सहयोग गर्ने विशाल मन भएका संसारभरीका एनआरएन साथीहरुलाई आफ्नै ठानेर सुझावसहितको शुभकामना दिए । परेको सहुँला बुझाउँला ।
Discussion about this post