एप्पलले आईफोन ११ सिरिज सार्वजनिक गरेको छ ।
मंगलबार कम्पनीले अमेरिकामा रहेको आफ्नो मुख्यालयमा एक कार्यक्रमबीच तीनवटा स्मार्टफोन सार्वजनिक गरेको हो । यी तीन स्मार्टफोनलाई आईफोन ११, आईफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्स नाम दिइएको छ ।
नयाँ आईफोनमा यसअघिको तुलनामा धेरै क्यामेरा रहेका कम्पनीले जनाएको छ ।
आईफोन ११ मा दुई ओटा क्यामेरा छन् । यसमा वाइड र टेलिफोटोका लागि लेन्सका साथै थप नाइट मोड रहेको छ, जसले थोरै प्रकाश भएको ठाउँमा पनि स्पष्ट फोटो खिच्न सकिन्छ ।
आईफोन एक्सआरको अपग्रेडेड भर्जन भनिएको यो स्मार्टफोनको ब्याट्री भने थप १ घण्टा बढी टिक्ने कम्पनीको दावी छ ।
आईफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्समा तीनवटा क्यामेरा छन् । एप्पलको नयाँ आईओएस १३ प्लेटफर्ममा चल्ने यी फोनमा प्रो को डिस्प्ले ५ दशमलव ८ र प्रो म्याक्सको ६ दशमलव ५ इन्च छ । यी फोनमा पनि नाइट मोड रहेका छन्, जसले गर्दा रातिको समयमा वा थोरै प्रकाश भएको ठाउँमा फोटो र भिडियोकाे गुणस्तर राम्रो हुने कम्पनीले जनाएको छ ।
सार्वजनिक गरिएका तीन वटा मोडलमध्ये सबैभन्दा सस्तो मोडल आइफोन ११ रहेको छ जसको मूल्य ७ सय अमेरिकी डलर तोकिएको छ । यस्तै आइफोन ११ प्रो को मूल्य एक हजार डलर र आइफोन ११ प्रो म्याक्सको मूल्य ११ सय डलर तोकिएको छ ।
Discussion about this post