काठमाडौं । रक्षा बन्दनको उल्लास मुलुकै भरी छाएको छ । काठमाडौंको पशुपतिनाथ परिसरभित्र विहानै देखि भक्तजनहरुको घुँइचो लोको छ । त्यसै गरी काठमाडांै उपत्यकाका भक्तपुर, ललितपुरलगायतका विभिन्न मठमन्दीरहरुमा पनि उत्तिकै रौनक छाएको छ । विशेष गरी हिन्दु धर्मावलम्बीहरूले मनाउँने यो पर्वमा बिहान सबेरै घरमा लिपपोत गरी शुद्ध गरेपछि कुनै प्रकारको रोगव्याधि नलागोस सधैं सुख र शान्ति होस् भन्ने कामना सहित ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन बाँधेर मनाउने गरिन्छ । रक्षाबन्धन बाँध्दा दैत्यराज बलिको दानशील र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने चलन छ ।
तागाधारीले आजकै दिन पुरानो जनै फालेर मन्त्र साधना गरी नयाँ जनै फेर्ने चलन छ । सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिने भएकाले आजको दिनलाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ ।
तराईको जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम मनाउने गर्दछन् ।
मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षहरुमा पहाडी समुदायमा पनि आएको देखिन्छ ।
यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन् ।
रक्षाबन्धनका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई याद गर्ने र सोहीअनुरुप दाजुभाइले पनि बहिनीलाई याद गरेर अनिवार्य रुपमा उनीहरु कहाँ पुगेर आफ्ना दिदीबहिनीसँग राखी बाँधेर एक अर्कालाई दीर्घायुको कामना गर्ने गर्दछन् ।
त्यस्तै यसै दिनमा उपत्यकाका किसानले आ–आफ्ना खेतमा गएर भ्यागुता पूजा गरेर सिमीको पातमा क्वाँटी भात खुवाउने चलन भएकाले यस पर्वलाई ‘ब्याँ जा नकेगु’ ‘भ्यागुतालाई भात खुवाउने’ भन्ने पनि चलन रही आएको छ ।
‘रुद्रयामलतन्त्रे महादेव वचन’ का अनुसार प्राचीनकालमा श्रावण कृष्ण चतुर्दशीका दिन घण्टाकर्ण राक्षस नेपालमा प्रवेश गरी मानिसको संहार गर्न खोज्दा एउटा भ्यागुताले त्यस राक्षसलाई मार्ने उपाय बताई संहार हुनबाट बचाएको भन्ने किदन्दी रही आएकोले जनैपूर्णिमाका दिन उनीहरूले गरेको गुन सम्झी त्यसरी भात खुवाई कृतज्ञता ज्ञापनस्वरुप यस कार्य गर्ने गरिन्छ ।
यसै दिन गोसाइँकुण्ड ‘शिवलुती’, मणिचूड दह र गोसाइँकुण्डबाट पानी आइराखेको जनविश्वास रहेको ललितपुरको कुम्भेश्वरमा ठूलो मेला लाग्ने गर्छ ।
नेवार समुदायमा यसै दिनदेखि करुण रसले भरिएको ‘शिलु तीर्थ म्ये’ गीत गाउने गरिन्छ।
यसै दिन भक्तपुरमा तलेजु भवानीका तर्फबाट ‘घिंताँ किसी’ नाच निकाली भक्तपुर नगर परिक्रमा गराइन्छ। यसै दिनदेखि राजधानी तथा अन्य ठाउँमा बौद्ध धर्मावलम्बीहरू गुँलाबाजा “एक प्रकारको बाजा’ बजाउँदै विभिन्न बाहा र बहीमा राखिएका दीपंकर तथागत, बुद्ध बोद्धिसत्वलोकेश्वर, तारा आदिका मूर्तिहरू, पौवा, हस्तलिखित ग्रन्थहरू हेर्न जाने गर्छन ।
Discussion about this post