लेखनाथ, ११ असोज।
‘देशको आर्थिक पुनर्जागरणका लागि उद्योगी व्यवसायी उठ्नु पर्दछ’ भन्ने सन्देश दिदै अधिकृत विक्रेता संघ लेखनाथले चाडवाडको शुभकामना आदानप्रदान गरेको छ ।
विजया दशमी, शुभ दीपावली, छठ पर्व साथै नेपाल संवत ११४६ को अवसरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान संगै नेपाल प्रहरी प्रदेश कार्यालय लाई नियमित कार्य सञ्चालनका लागि आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर प्रमुख अतिथि तथा प्रहरी निरीक्षक कृष्ण रानाभाट मार्फत हस्तान्तरण सहयोग गरेको छ।
अधिकृत विक्रेता केन्द्रीय वितरण संघका निवर्तमान अध्यक्ष हरिराज पन्तले देशको विषम परिस्थितिको सामना गर्दै समाज र व्यवसायी प्रवद्र्धनमा लाग्न व्यवसायीलाई आग्रह गर्दै, चाडपर्वलाई व्यक्तिगत रुपमा आफ्नो परम्परा र संस्कृतिअनुसार मनाउन सुझाव दिए ।
लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले वर्तमान अवस्थामा व्यवसायी र प्रतिष्ठानले ठूलो नोक्सानी व्यहोर्नु परिरहेको उल्लेख गर्दै कालोबजारी र नाफाखोरीमा नलागी राष्ट्र निर्माणका आर्थिक क्रियाकलापमा संलग्न व्यवसायीले रोजगारी सिर्जना गरी जनताको सेवा गर्न एकजुट हुनुपर्ने बताए ।
त्यसैगरी, अधिकृत विक्रेता संघ लेखनाथका अध्यक्ष निर्मल पौडेलले चाडपर्वमा व्यवसायीले व्यवसायिक मान्यता अनुसार व्यापार गर्नुपर्नेमा जोड दिँदै, व्यापार व्यवसाय राष्ट्रको मेरुदण्ड भएकाले सबैले आफ्नो दायित्व र भूमिकाको महत्त्व बुझ्नुपर्ने धारणा राखे ।






Discussion about this post