पोखरा, ९ भदौ/ जिल्ला प्रशासन कास्कीले पोखराको लेकसाइडका स्पा सेन्टरबाट ४ जना बालबालिकाको उद्धार गरेको छ । स्पा सेन्टरमा बालिकाहरुलाई काममा लगाएको भन्ने सुचनाका आधारमा प्रशासनले अनुगम गरेको हो ।
कास्की सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा वडा प्रहरी कार्यालय वैदाम, सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गणका प्रतिनिधी सहितको सुरक्षा टोलीद्वारा लेकसाइड क्षेत्रमा सञ्चालनमा रहेका शंकास्पद ९ वटा स्पाहरूको अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा ४ वटा स्पा तथा व्युटी पार्लरबाट ४ जना उमेर नपुगेका (१८ वर्षभन्दा कम उमेरका) बालिकाहरुको उद्धार गरिएको हो । उद्धार गरिएका बालिकाहरूलाई राईट फर चिल्ड्रेन मार्फत् कोपिला नेपालमा अस्थायी संरक्षण प्रदान गरी राखिएको थियो ।
यसै सम्बन्धमा, श्रम तथा रोजगार कार्यालय पोखराद्धारा २ जना बालिकाहरुलाई क्रमश १९ हजार ५ सय ५ र १२ हजार ८ सय ५० रुपैया पारिश्रमिक दिलाईएको र बालश्रम विपरित कार्य गरेको सम्बन्धमा प्रत्येक सञ्चालकलाई १० हजारका दरले दण्ड रकम तिराई छ । बालिकाहरुलाई परिवारको जिम्मा लगाईएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
साथै, व्यवसाय दर्ता तथा नवीकरण गर्ने, नियमानुसार राजश्वरकर तिर्ने, दर्ता प्रमाणपत्र अनुसारको साइनबोर्ड राख्ने, १८ वर्ष मुनिका बालबालिकालाई काममा नलगाउने र “रात्रीकालीनरपूर्णकालीन समयमा होटल तथा रेष्टुरेण्ट सञ्चालन सम्बन्धी मापदण्ड, २०८०” को पूर्ण कार्यान्वयन गर्ने शर्तमा सम्बन्धित सञ्चालकहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट कागज गराई छाडिएको छ ।







Discussion about this post