तनहुँ, ३ साउन ।
शुक्लागण्डकी नगरपालिका वडा नंं ६ स्थित तीनखोले देवी मोटर मार्ग अन्तर्गत कुम्ले खोलामा निर्माण गरिएको १७.८० मिटर लामो र ७ मिटर चौडाइको डबल सेल बक्स मोटरेबल पुलको शनिबार एक भव्य कार्यक्रमबीच उद्घघाटन गरिएको छ । करिब २ करोड ८० लाख रुपैयाँको लागतमा निर्माण भएको यो पुल स्थानीय पूर्वाधार विकास आयोजनाको बजेटमा सम्पन्न भएको हो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद तथा पूर्व वनमन्त्री माननीय शंकर भण्डारी सहभागी रहे । उनले देश र जनताको सेवा नै सबैभन्दा महत्वपूर्ण भएको बताउँदै विकास र समृद्धिको मार्गमा सबै तह र निकाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले धार्मिक, कृषि तथा पर्यटनको समायोजनमार्फत गाउँमा रोजगारी सिर्जना गरी युवा पलायनलाई रोक्न सकिने धारणा व्यक्त गरे ।
शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले पुल निर्माण कार्य समयमा सम्पन्न गर्न सफल भएकोमा निर्माण कम्पनी, जग्गा दाताहरू र स्थानीयवासीप्रति आभार व्यक्त गरे । उनले नगरपालिकाले व्यवसायिक कृषि तथा उत्पादनमुखी योजनालाई प्राथमिकतामा राखेको जानकारी गराए ।
तीनखोले मोटर मार्ग निर्माण समितिका अध्यक्ष बालकुमार बाग्लेले २९ वर्षअघि सुरु भएको मार्गले अब टोल र बजारलाई सशक्त रूपमा जोडेको बताए । तीनखोले पूजाअनुष्ठान व्यवस्थापन समितिका अध्यक्ष श्रीराम अधिकारीले धार्मिक तथा पर्यटकीय दृष्टिकोणले पुलको निर्माण ऐतिहासिक भएको धारणा राखे ।
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, कास्कीका वरिष्ठ इन्जिनियर रविन पन्थीका अनुसार पुल निर्माण कार्य २०८१ असार १४ मा सुरु भई २०८२ असार ३० मा सम्पन्न भएको हो । वोयस्टन कन्ट्रक्सन प्रा.लि, गुल्मीका ठेकेदार गगन के.सी.ले स्थानीय सहयोगका कारण निर्माण कार्य समयमै सम्पन्न भएको बताए ।
भानु नगरपालिकाका प्रमुख आनन्द त्रिपाठी, नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति डा. कृष्ण प्रसाद गौतम, वडाध्यक्ष बुद्धिबहादुर थापा, कांग्रेस र नेकपाका स्थानीय नेताहरू, तथा स्थानीय समितिका पदाधिकारीहरू पनि कार्यक्रममा सहभागी थिए ।
यो पुलको निर्माणसँगै खैरेनीटार बजार, जाम्दी, तीनखोले देवी मन्दिर, छहरे, कदमे, बयागाम, कुशे, पोखरी थोक, सर्वलाङ, राङ्गकोट, सालघारी दोहोरीबाट, कालिमर्याङ, कमलबाटे लगायतका गाउँहरू जोडिने छन् । पुलबाट ६ हजारभन्दा बढी स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।






Discussion about this post