लेखनाथ, १५ पुस । गुरुङ समुदायको विशेष पर्व तमु ल्होछार सक्नेरी बुद्ध आमा समुह पोखरा–२६ ले भव्य रुपमा मनाएको छ । सोमबार पोखरा–२७ बुढिबजार सक्नेरी स्थित समाज भवनमा शुभकामना आदान–प्रदानसँगै नाचगान गरेर तमु अर्थात् गुरुङ समुदायको नयाँ वर्ष सप्री ल्होछार मनाएका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं.२६ का अध्यक्ष नरेन्द्र थापा नरेनले तमु ल्होछारसहित जनजातिको विशेष पर्वहरुको संरक्षण र प्रवद्र्धनका लागि तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । वडा अध्यक्ष थापाले मौलिक संस्कृती जोगाउन यस्ता पर्वहरुले महत्व दिने बताए ।
उक्त अवसरमा विशिष्ट अतिथि डा. हेमराज गुरुङ्गले गुुरुङ्गहरुको आफनो भेषभुुषा र भाषालाई संरक्षण गर्नुु पर्नेमा जोड दिए । साथै उनले विभिन्न भाषाभाषीको संरक्षणमा प्रतिबद्ध भई जातिगत संस्थाहरु लाग्नुपर्ने बताए । उनले जनजातिको अधिकारलाई सविधानले पनि संरक्षण गरेको हुदाँ आफनो अधिकारलाई राज्यबाट प्राप्त गर्नु पर्नेमा जोड दिए ।
सक्नेरी बुद्ध आमा समुहकी अध्यक्ष देवेन्द्र कुमारी गुरुङले आफ्नो भाषा, संस्कृतीसँगै ल्होछार जस्ता पर्वको मौलिकता जोगाउँन आदिवासी जनजाति गम्भीर हुनुपर्ने बेला भएको बताए । गुरुङले गणतान्त्रिक नेपालमा ल्होछारमा सार्वजनिक बिदा दिनु सकारात्मक भएपनि मौलिक संस्कृती संरक्षण गर्न सरकारले बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएकी थिईन ।
यस्तै ङ्योए तमु धिं भण्डारढिकका अध्यक्ष मेघ बहादुर गुरुङले आफ्नो संस्कृती जोगाउन सबै गुरुङ समुदाय एकजुट भएर लाग्न पनि आग्रह गरे । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजीको भाषाका रुपमा अघि सारेको छ ,’ उनले भने, यसैगरि सरकारले आदिवासी जनजातीको हितमा काम गर्दा सस्कृतीको जगेर्ना हुने देखिन्छ ।’
कार्यक्रममा गुरुङ समुदायबाट विभिन्न क्षेत्रमा रहेर उल्लेख्य काम गर्नेहरुलाइ सम्मान गरिनुका साथै प्लस टु , स्नातक र स्नातकोत्तर गर्ने बाबु नानीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा गुरुङ पहिरनमा सजिएका गुरुङ युवायुवती, बालबालिकाहरुले गुरुङ साँस्कृतिक नाँच–गान प्रस्तुत गरेका थिए ।
समाजकी अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष धनदेवी गुरुङले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव ज्योति गुरुङले गरेकी थिईन ।
Discussion about this post