पोखरा । साविक विजेता संकटा क्लबमाथि सनसनी जित दर्ता गर्दै त्रिभुवन आर्मी क्लब २३ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । स्टार खेलाडीले भरिएको संकटा अन्ततः पहिलो खेलमै हार व्यहोर्दै घर फर्किन बाध्य भयो ।
पहिलो हाफको अन्तिम मिनेटमा अग्रता लिएको आर्मीले दोस्रो हाफमा थप २ गोल गर्दै संकटाको चुनौती ३–० ले पन्छाएको हो । आर्मी ४ पटकसम्म फाइनल पुगेर पनि उपाधि चुम्न वञ्चित छ ।
पोखरा रंगशालामा आइतबार दोस्रो क्वाटरफाइनलमा विभागीय टोलीको जितमा मिडफिल्डर दिनेश हेन्जनले दुई तथा फरवार्ड जिलेस्पीजंग कार्कीले एक गोल गरे । जिलेस्पीजंग म्यान अफ दि म्याच घोषित भए ।
जितसँगै आर्मीले फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लब र चर्च ब्वाइज क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
सोमबार तेस्रो क्वार्टरफाइनल खेल जावलाखेल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबविरुद्ध खेल हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
यसअघि, थ्रि स्टार क्लब अन्तिम चारमा पुगिसकेको छ । उसले आइतबार भुटानी टिम पारोलाई २–० गोलअन्तरले हराएको हो ।
१२ टिमले भाग लिएको प्रतियोगिताको फाइनल २० माघमा हुनेछ । विजेताले १२ लाख र उपविजेताले ६ लाख प्राप्त गर्ने छन् ।
Discussion about this post