पोखरा, २२ साउन – उच्च अदालत पोखराले आइतबार आदेश जारी गर्दै अन्तिम फैसला नआउँदासम्मका लागि फोहोर विसर्जनमा अवरोध नगर्न भने संगै पोखरा महानगरलाई तत्कालका लागि अहिलेकै स्थानमा फोहोर व्यवस्थापन गर्न बाटो खुला भएको छ।
महानगरले सहमति अनुसार काम नगरेको, ल्यान्डफिल साइटका कारण स्वास्थ्यमा प्रतिकुल असर परेकाले तत्काल फोहोर विर्सजन रोक्न बिहीबार महानगरविरुद्ध स्थानीय हरुले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए ।
रिटको उच्च अदालतले शुक्रबार विपक्षी बनाइएको पोखरा महानगरपालिकालाई एक हप्ताभित्र कारण देखाऊ आदेश जारी गरेको थियो ।
आइतबार महानगरको जवाफ पछि न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र ऋषि राजभण्डारीको संयुक्त इजालासले निवेदकको अन्तरिम आदेश दिनु नपर्ने आदेश गरेको उच्च अदालतका रजिस्ट्रार श्रीलाल पौडेलले जानकारी दिए ।
अवरोधपछि फोहोर बोक्ने गाडी नआउँदा स्थानीयले पोखराका मुख्य बजार क्षेत्रको सडक छेउमा फोहोर फाल्दै आएका थिए । यसरी फालेको फोहोर महानगरले उठाएर गाडीमा संकलन गरेर राख्दै आएको थियो ।
फोहोर उठाउने गाडि समेत भरिएपछि महानगरले केही फोहोर पृथ्वीचोकको दमकल शाखा परिसरमा अस्थायी रुपमा खाडल खनेर पुर्ने काम गरेको छ ।
Discussion about this post