पोखरा, ९ साउन/
पोखरा महानगरपालिकाले कृषकहरूलाई ४४ लाख बढी अनुदान प्रदान गरेको छ । मेयरमैत्री बाख्रा पकेट कार्यक्रम अन्तरगत महानगरका १९१ जना कृषकहरूलाई रु।४४ लाख २० हजार बराबरको अनुदान प्रदान गरिएको हो ।
महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा २८ कालिकामा आयोजित एक कार्यक्रमका बिच सो अनुदान प्रदान गर्नुभएको हो । बाख्रा पालन पकेट कार्यक्रमका रूपमा विकास भइरहेका बेला महानगरपालिकाको आर्थिक विकास महाशाखाले अनुदानका लागि योग्य कृषकहरूलाई अनुदान सहायता उपलब्ध गराएको हो ।
यस प्रकारको अनुदानले कृषकहरूलाई हौसला मिल्ने नगरप्रमुख आचार्यले विश्वास व्यक्त गर्नुभयो । “महानगरपालिका कृषकहरूको सहायताका लागि सदैव सकारात्मक छ, प्रमुख आचार्यले भन्नुभयो, महानगरपालिकाको समृद्धिसँग कृषकहरूको समृद्धि पनि जोडिनु पर्दछ ।” आत्मसम्मानका साथ उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्ने वातावरणको सृजना गर्न महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
यसैबिच पोखरा महानगरपालिका वडा नं २८ मा माझठाना कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र समेत सञ्चालन गरिएको छ । हाल पोखरा महानगरपालिकामा १५ स्थानमा कृषि सङ्कलन केन्द्र सञ्चालनमा रहेका छन्, भने ५ वटा कृषि बजारहरू महानगरपालिकाको तर्फबाट सञ्चालन गरिएको छ ।
Discussion about this post