रामशरण नेपाली
लेखनाथ, २५ चैत्र । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना माथी पोखरा महानगरपालिका वडा नं. २६ ले डोजर लगाउन शुरु गरेको छ ।
निर्माण व्यवसायी समेत रहेका स्थानीय आनन्द बरालले सार्वजनिक बाटोको मापदण्ड मिचेर कम्पाउण्ड बाल लगाएकोमा पटक पटक वडाको तर्फबाट हटाउन आग्रह गरिएपनि अटेर गरेपछि महानगरसँग समन्वय गरि शनिबार डोजर लगाएर पर्खाल भत्काईएको वडाध्यक्ष थापाले वताए ।
वडाबाट विनियोजित भएको रकमबाट बाटोको योजनाको काम चलिरहेको अवस्थामा मापदण्ड अनुसार पर्खाल हटाउन आग्रह गर्दा उताबाट काम गर्दै आउनुस अन्तिममा हटाउँछु भनेर भन्ने गरेको र अन्तिम अवस्थामा पनि हटाउन नमानी स्थानीय सरकार मान्दीन, अझै ४ वर्ष सम्म हटाउँदिन भन्नेजस्ता जवाफ दिने गरेको र योजनाको काम समेत डेढ महिना अवरुद्ध भएकाले बाध्य भएर डोजर लगाउनुपरेको वडाध्यक्ष थापाले वताए ।
“यो त ट्रेलर मात्रै हो, उहाँले धेरै ठाउँमा धेरै कुरा मिचेको अवस्था छ, हामी विस्तारै खोतल्दै जान्छौं, नेपालको कानुन मान्दीन भनेर धाक धम्की दिने गरेकोमा यो त उहाँलाई एउटा सानो चिनो दिएको हो” वडाध्यक्ष थापाले भने । उनले अबका दिनमा २६ नं वडाभरी मापदण्ड विपरीत बनेका संरचनाहरु क्लियर गर्ने प्रक्रियामा वडा कार्यालय रहेको वताए ।
यसैविच व्यवसायी आनन्द बरालले वदनियतवश व्यक्तिगत सम्पतीमाथी क्षति पुर्याउने काम भएको प्रतिक्रिया दिंदै आफुले १÷२ हात जग्गा छोडेको तर नमिचेको दावी गर्दै यसको विरुद्ध आफु अदालत जाने वताएका छन ।
Discussion about this post