लेखनाथ, १ फागुन । पोखरा महानगरपालिका वडा नं.२६ का वडा अध्यक्ष नरेन्द्र थापाले वडाको विकासको लागि हातेमालो गर्न वडाका संघ संस्था र वडावासिहरुमा आग्रह गरेका छन ।
आईतबार वडाको श्रृजनशिल टोलविकासबाट लक्ष्मी मार्ग हुँदै उद्धार मार्ग चोक ढलान योजनाको शुभारम्भ गर्दै उनले यस्तो वताएका हुन । स्थानिय संघ संस्था र नागरिकको सहयोग बिना सरकारले सञ्चालन गर्ने योजनाहरु सफल हुन नसक्ने वताउँदै हरेका विकास निर्माणमा योजनाहरुलाई सफल बनाउन टोलविकास संस्था, आमा समुह, यूवा क्लव लगायतका सामाजिक संघ संस्था र वडावासिले हातेमालो गर्नुपर्ने वताएका हुन ।
सडकका लागि वडा नं. २६ ले कुल ८ लाख रुपैंया विनियोजन गरेको छ भने उपभोक्ताको तर्फबाट ३ लाख ४४ हजार ९ सय ६२ रुपैया गरी कुल ११ लाख ४४ हजार ९ सय ६२ रुपैयाको लागतमा सडक निर्माण हुन लागेको हो । सडक निर्माणका लागि गणेश भक्त अधिकारी को अध्यक्षतामा उपभोक्ता समितिको गठन गरिएको छ ।
कार्यक्रममा निर्माण समितिका अध्यक्ष अधिकारीले वडाले स्थानीयको योजनालाई सम्वोधन गरेको उल्लेख गर्दै वडा सरकारको अनुभूति गर्न पाएको उल्लेख गरे ।
कार्यक्रममा न्यू ऐरा एकेडेमीका प्राचार्य वेद प्रसाद वस्ताकोटी, नेपाल रेडक्रस सोसाईटी लेखनाथ उप–शाखाका अध्यक्ष तिलकशाली सापकोटा, पृथ्वीनारायण क्याम्पस वनस्पती विभागका प्रमुख नारायणदत्त वस्ताकोटी, अर्घौंपौवा नेवा खलःका अध्यक्ष प्रकाशलाल श्रेष्ठ, श्रृजनशिल महिला समुहका उपाध्यक्ष अम्बीका सापकोटा लगायतले बोलेका थिए ।
कार्यक्रममा श्रृजनशिल टोल विकास संस्थाका अध्यक्ष हरि ब. लामिछानेले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव धर्मदत्त पौडेलले गरेका थिए । पोखरा महानगरपालिका वडा नं. २६ मा चालु आर्थिक बर्षमा संचालन हुने योजनाहरु उपभोक्ता समिति गठन भै धमाधम शुरु भएका छन् ।
Discussion about this post