एसवि नेपाली/ दमौली । युवा सजगता अभियान जिल्ला कार्य समिति तनहुँको आयोजनामा सोमबार दमौलीमा युवा सजगता अभियानमा स्थानीय तह संयोजकहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं व्यासनगरपालिका नगरप्रमुख बैकुण्ठ न्यौपानेले उक्त कार्यक्रमको ब्यानर पढेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले कृषि र स्वास्थ्य क्षेत्रमा पालिकाहरुमा बजेट पर्याप्त मात्रामा छुट्टाउने गरेकाले स्थानीय तहसँग सहकार्य गरी कृषिसँग जोडेर उत्पादनमूखी कर्ममा युवाहरु जोडिनुपर्ने बताए ।
स्वदेशमा नै भुल्ने र आर्जन गर्ने वातावरण सिर्जना गर्न युवाहरुले यसक्षेत्रमा सक्रियताका साथ चासो दिनुपर्नेमा उनले जोड दिएका थिए ।
कृषिसँग सम्बन्धित हावा पानी मिल्दो के काम गर्न सकिन्छ, कस्तो सीप चाहिन्छ त्यस कुरामा स्थानीय तह सहकार्य गरेर युवाहरुलाई स्वदेशमा नै उद्यमशील बनाउन युवा सहजकता अभियानले पाईला चाल्नु पर्छ नगरप्रमुख न्यौपानेले भने ।
थुप्रै जमिन बाँझो रहेकोले आधुनिक प्रविधिको प्रयोग गरी बिशेषज्ञको परामर्श लिएर त्यसलाई युवाहरुलाई जोड्ने हो भने छोटो समयमा नै नेपाललाई खाद्यान्न तथा माछा र मासुमा आत्मनिर्भर बनाउन सकिने उनको धारणा थियो ।
राजनैतिक आस्था र संगठन जोडिएकोले लोकतन्त्रको मूल्य र मान्यता विपरीत कुनै पनि गतिविधी गर्न नहुनेमा उनले जोड दिए ।
कार्यक्रमका गण्डकी प्रदेशका प्रदेश सभासदस्य एवं विशिष्ट अतिथि दोवाटे विश्वकर्माले युवाहरुलाई सामाजिक कार्यमा उर्जाशील बनाएर लैजानुपर्ने बताए ।
अर्का गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङले युवापुस्ताले चालेको कदम सह्रानीय रहेकोले यसमा सबैले साथ र सहयोग गर्नुपर्ने बताइन् ।
युवा सजगता अभियानका केन्द्रिय अध्यक्ष एवं इन्जिनियर चिन्तन पौडेलले युवाहरुलाई उद्यमशील, शिक्षित र रोजगारीमूलक क्षेत्रमा समावेश गराउने उद्देश्य अनुरुप यस अभियानलाई अघि बढाइएको बताए ।
नेपाली माटोमा रमाउने वातावरण सिर्जना गरी सुकुम्बासी,मजदुर र किसानलाई प्रत्यक्ष भेटेर उनीहरुको पहिचान,समस्या र समाधानमूलक सेवा प्रदान गरिने योजना रहेको उनले जानकारी दिए ।
अभियानका जिल्ला संयोजक देव रसाइलीको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, नेका महासमिति सदस्य रामचन्द्र अधिकारी, कृष्ण गौतम, नेका कार्यवाहक सभापति जीतप्रकाश आले, नेका जिल्ला सहसचिव केशबहादुर सुनार, जिल्ला कार्यालय सदस्य अशोक कुमार श्रेष्ठ, लगायतका वक्ताहरुले युवाहरुले देखाएको कदम प्रशसनीय रहेको बताएका थिए । कार्यक्रममा स्वागत युवराज आले तथा संञ्चालन सुवोध अधिकारीले गरेका थिए ।
उक्त कार्यक्रममा जिल्लाका विभिन्न पालिकाबाट संयोजकहरुको सहभागिता रहेको थियो । यस अभियान अन्र्तगत हालसम्म देशभर आठ सय युवाहरु आबद्ध भैसकेको र यस अभियानमा जोडिने क्रम बढी रहेको बताइएको छ ।
Discussion about this post