मुस्ताङ । नेपालको प्रसिद्ध धार्मीक स्थल मुक्तिनाथ मन्दिर पुष २१ गतेदेखी खुल्ला हुने भएको छ ।
कोरोना महामारीका कारण विगत ९ महिनादेखि बन्द रहेको मन्दिर आज बसेको सर्वदलीय बैठकद्धारा ४ बुँदे समझदारी मन्दिर खुल्ला गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिए ।
हिमाली जिल्ला मुस्ताङको एकमात्र गहना एवं सबैको साझा सम्पत्ति मुक्तिनाथ मन्दिर खुलाउन सम्पूर्ण स्थानीयबासी सकारात्मक भएपछि खुल्ने भएको हो । जिल्लास्थित सम्पूर्ण सरोकारवाला निकायहरु र मुक्तिनाथका स्थानीयबासीहरुको ऐक्यबद्धतामा मुक्तिनाथ खुल्ने भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि ढोका खुलेको हो ।
छिमेकी जिल्लाहरुका विभिन्न निकायहरुको चर्को दबाब तथा जिल्ला प्रशासन कार्यालयको सकारात्मक पहलबाट यो काम सम्भव भएको हो ।
प्रदेशसभा सांसद महेन्द्रबहादुर थकालीले करिब नौ महिनादेखि बन्द मुस्ताङ र चर्चित धार्मिक स्थल मुक्तिनाथ मन्दिर खुलाउन भएको पहलले सही बाटो लिएको बताए । जिल्लास्थित सरोकारवाला निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशस्त्र पहरी, जनप्रतिनिधि लगायतले गरेको आजको कामले अब मुस्ताङ जिल्लाको मुहार फेरिने उनले बताए ।
“आजको मितिले यही पुष २१ गतेबाट मुक्तिनाथ मन्दिर खुल्ने हुनेछ । अब स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी र बाह्य पर्यटकहरुलाई मुक्तिनाथ मन्दिर र मुस्ताङको विभिन्न स्थानहरु घुम्न अनुरोध गर्दछु ।”उनले भने ।
Discussion about this post