सानेबहादुर नेपाली/दमौली । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाद्धारा सामुदायिक एम्बुलेन्स सेवा संचालनको लागि थालेको अभियानमा हालसम्म करिब रु.पन्ध्र लाख संकलन भएको छ ।
असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान भन्ने नाराका साथ नेपाल रेडक्रस दिवसको अवसरमा गत भदौ १९ गतेबाट सञ्चालन गरेको अभियानमा उक्त रकम संकलन भएको हो ।
सामुदायिक एम्बुलेन्स सेवा संचालन अभियानलाई विभिन्न सहयोगी हातहरुबाट सहयोग गर्ने क्रम जारी रहेकोले अघि बढ्न हौसला मिलेको उपशाखाका अर्थ संकलन समितिका संयोजक ईश्वर पौडेलले बताए ।
एम्बुलेन्स खरिदका लागि विभिन्न सामाजिक संघसंस्था, टोल विकास संस्था, आमा समूह, विद्यालय, शिक्षक, शिक्षिका, सामुदायिक बन उपभोक्ता समिति, व्यवसायी, देश विदेशमा रहनुभएका तनहुँबासी लगायतको सहयोग प्राप्त भएको नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाका संस्थापक सभापति रामदत्त पौडेलले बताए ।
सुपथ मूल्यमा एम्बुलेन्स सेवा उपलव्ध गराउने उद्देश्यले गरिएको सहयोग संकलन अभियानमा अझै रकम जुट्ने क्रम जारी रहेको छ । उनले भने ‘केही दाताहरुले भने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।’ स्वर्गीय शंकर गिरीको परिवारको तर्फबाट शुरुमा रु.६० हजार रुपयाँ प्रदान गर्नु भएपछि सहयोग रकम संकलन अभियान कार्य अघि बढाइएको उनले जानकारी दिऐ ।
उक्त उपशाखाद्धारा अब छिट्टै एम्बुलेन्स खरिद गरी सर्वसाधारणहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको बताइएको छ ।
स्थानीयबासीले एम्बुलेन्स संञ्चालनको लागि चालेको पहल कदमी सह्रानीय रहेको व्यासनगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले बताए । सबै तह र तप्काबाट सकारात्मक सहयोग रकम जुट्दा एम्बुलेन्स खरिद कार्यमा सहज बनेको उनले बताए ।
Discussion about this post