दुलेगौडा । तनहुँको सुन्तला उत्पादक कृषक यस वर्ष राम्रो फल नलाग्दा मारमा परेका छन् । बर्षेनी करोडौँ रुपैयाँको सुन्तला निर्यात गर्ने यहाँका किसानहरु यस बर्ष बोटमा फल नलागेपछि मारमा परेका हुन ।सुन्तलाको फुल र फल लाग्दा असिना परेका कारण उत्पादन घटेको शुक्लागण्डकी ११ नाम्सीकोटका कृषक हिमाल महतले बताउनुभयो । उहाँले आफ्नो बगैचाबाट बर्षेनी ३५ देखि ४० लाख बराबरको सुन्तला बेच्दै आउनुभएको थियो । यस बर्ष भने सुन्तलाको दाना लाग्ने बेलामा पानी परेकाले उत्पादन चारगुना घटेको उहाँले बताउनुभयो । उहाँका अनुसार सुन्तला उत्पादन गर्ने किसानले यस बर्ष मात्र नभएर गत बर्ष समेत असिनाका कारण उत्पादनमा क्षति ब्यहोरेका थिए । महतले असिनाबाट सुन्तला जोगाउन कृषि ज्ञान केन्द्र मार्फत जालिको ब्यवस्था गरिदिन कृषि ज्ञान केन्द्रलाई आग्रह गरेको जानकारी दिनुभयो ।
जिल्लामा सुन्तला उत्पादनका लागि पकेट क्षेत्रको रुपमा रहेको नाम्सीकोटको सुन्तला बेच्न यस बर्ष समस्या भएको मध्यस्तकर्ता (ठेकेदार) धादिङ्गका इन्द्रबहादुर शाहीले बताउनुभयो । बोटमा सुन्तलाका दाना सानो र रस राम्रोसँग नपसेकाले बजारमा समेत आकर्षक मुल्य नपाउने गरेको उहाँले गुनासो गर्नुभयो । झण्डै २५ बर्षदेखि बर्षेनी नाम्सीकोटको सुन्तला खरिद गर्दै आउनुभएका शाहीले सुन्तलाको बजार उत्साहजनक नभएको बताउनुभयो ।यस्तै जिल्लाको म्याग्दे गाउँपालिकामा पनि सुन्तला उत्पादनमा कमी आएको छ । म्याग्दे २ उमाचोकका ब्यवसायिक सुन्तला कृषक विश्वबहादुर अधिकारीले यस बर्ष अत्याधिक बर्षा भएका कारण म्याग्देमा सुन्तला उत्पादन घटेको जानकारी दिनुभयो । बार्षिक ५० लाख बराबरको सुन्तला विक्री गर्ने अधिकारीले आफ्नो बगैचामा यस बर्ष ३०—४० प्रतिशत उत्पादन घटेको जनाउनुभयो ।
उमाचोक खानीगाउँ सुन्तला ब्लक क्षेत्र घोषणा गरि ब्यवसायीक सुन्तला खेति गर्ने कृषकले यस बर्षमा मात्र झण्डै १३ हजार सुन्तलाको बेर्ना रोपेको वडाध्यक्ष चन्द्रबहादुर रानाभाटले बताउनुभयो । तनहुँको कुल १ हजार ६ सय हेक्टरमा सुन्तलाको ब्यवसायिक खेति गरिएको कृषि ज्ञानकेन्द्र तनहुँले जनाएको छ ।ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले यस बर्ष तनहुँमा ८ देखि ९ हजार टन सुन्तलना उत्पादन गरि २३ करोड भित्राउने लक्ष्य रहेको बताउनुभयो । केन्द्रले सुन्तला खेति गर्ने कृषकहरुलाई तालिम तथा अनुदान प्रदान गरेर ब्यवसायिक उत्पादनमा जोड दिएको छ ।
जिल्लामा शुक्लागण्डकी नगरपालिका ११ नाम्सीकोट राईपुर, म्याग्देगाउँपालिकाकाको उमाचोक, ब्यास नगरपालिका १३ बेनिकोट, देवघाट गाउँपालिकाको छिपछिपे, लुरिङ्ग क्षेत्रमा ब्यवसायिक रुपमा सुन्तला खेति हुदै आएको छ ।
Discussion about this post