हरि खरेल/तनहुँ खबर
कार्तिक १६ दुलेगौडा ।
दैनिक रुपमा सवारी साधनमा आवत जावत गर्ने सर्वसाधारण मानिसहरुलाई अझपनि कतिपय सार्वजनिक सवारी साधनले चर्को भाडा लिने गरेको पाईएको छ । सरकारले सवारी साधनमा यात्रा गर्दा पहिलाको दरभाउमा यात्रा गर्न पाउने भने पनि यातायात वयवसायीहरुले भने कोरोनाको कारणले भन्दै मनपरी रुपमा भाडा असुल्दै आएको पाईएको छ । यस्ता समस्यालाई मध्यनजर गदै जिल्ला प्रहरी कार्यालय, तनहुँले ठाउँ ठाउँमा अनुगमन गदै कारबाही गरेको कार्यालयका ट्राफिक ईन्र्चाज रेशम रानाभाटले जानकारी दिनुभयो ।
व्यवसायीहरुले चर्को भाडा लिने गरेको गुनासो आउन थालेपछि यात्रुहरुको सहजताको लागि १०० र १०३ नंम्बरको व्यवस्था गरीएको ट्राफिक ईन्चार्ज रानाभाटले जानकारी दिनुभयो । केही समय पहिला गुणादी स्थित पुथ्वी राजमार्गमा जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, पत्रकार, विभिन्न सामाजिक संघ संस्थाहरुले वृहत अनुगमन गरेको बताउनुभयो । उक्त अनुगमनमा केही सार्वजनिक यातायातले बढी भाडा लिएकोमा तत्काल फिर्ता गर्न लगाई आवश्यक कारबाही गरीएको रानाभाटले बताउनुभयो ।
यसै गरी ऋषिङ्गमा पनि यात्रुहरुको भाडा डब्बल नै लिने गरेको खबर संगै उक्त सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको रानाभाटले बताउनुभयो । उहाका अनुसार हाल सवारी साधनमा बढी यात्रुहरु हाल्ने, छतमा यात्रुहरु राख्ने, बढी भाडा लिने जुन सुकै सवारी साधनलाई पनि कारबाही गर्ने गरेको बताउनुभयो ।
प्रहरीको हटलाईन नम्बर १०३ सञ्चालनमा आएसँगै यस्ता गतिविधिहरु नियन्त्रणमा धेरै नै सहयोग पुग्ने गरेको छ । दशैको सेरोफेरेमा मात्र ४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर बढी लिएको भाडा फिर्ता गरी कारबाही गरेको ट्राफिक ईञ्चार्ज रानाभाटले बताउनुभयो । अबको केही दिनमा फेरी पनि अनुगमन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।
Discussion about this post