पोखरा, । संचारिका समूह नेपालको आयोजनामा वातावरणिय संरक्षण तथा लैगिंकता र सामाजिक समावेशिकरण विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । समुहका केन्द्रिय सदस्य एवं पत्रकार महासंघ कास्कीका उपाध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा वन वातावरणको संरक्षणका साथै प्राकृतिक स्रोत साधनमा महिलाको पहुँच र नियन्त्रणको विषयमा छलफल गरिएको थियो । सञ्चारिका समूहले निरन्तर महिलाको मुद्दामा वकालत गर्दै लैगिंक सहभागिता र समानताका विषयलाई जोड दिँदै आएको भण्डारीले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केदारनाथ शर्माले प्राकृतिक स्रोत र साधन सबैैको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा साझा धारणा हुनुपर्ने बताउनुभएको छ । उहाँले सामुदायिक वनको अवधारणा आएदेखि नै संरक्षणमा महिलाको सक्रियता रहेपनि नेतृत्वमा महिलाको गर्विलो उपस्थितीमा अझै जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख वक्ता उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयका गण्डकी प्रदेशका सचिव डा महेश्वर ढकालले महिलाको आर्थिक सशक्तिकरणका लागि वातावरणीय स्रोत साधनको सही सदुपयोग गरेर आर्थिक उपार्जनमा जोड्नु पर्ने बताउनु भएको छ । त्यस्तै कोपिला नेपालका कार्यकारी निर्देशक एवम् महिला अधिकारकर्मी विना सिलवालले वन तथा वातावरणसँग महिलाको सामिप्यता धेरै हुनुका साथै जडिबुडिका विषयमा समेत महिलाहरु जानकार रहेपनि उनीहरुको ज्ञान सीप र क्षमताले कहिकतै स्थान पाउन नसकेको गुनासो गर्नुभयो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले वातावरणीय मुद्दामा पत्रकारहरुले उजागार गर्दै वन वातावरण पर्यावरण भित्रका गहन विषयको खोजी जरुरी रहेको बताउनुभयो । कार्यक्रममा प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले प्राकृतिक स्रोत साधन पहुँचमा महिलाको सहभागिता बढाउन स्पष्ट निति नियमको खाँचो औल्याउनुभयो । कार्यक्रममा संचारिका समूह गण्डकी प्र्रदेशका महासचिव कविता श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो भने वन वातावरण एवं सामाजिक क्षेत्रका ३५ जना सहभागि रहेका थिए ।
Discussion about this post