नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तर्राष्ट्रिय उडान भर्ने निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक महिनादेखि चीनको राजधानी बेइजिङलगायत मुख्य शहरमा उडान गर्ने भएको छ ।
चीनका गन्तव्यमा उडान भर्नका लागि लामो समयदेखि प्रयासरत कम्पनीले बेइजिङ, चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिङ, अलि र शेन्जेङमा उडान विस्तार गर्ने तयारी गरेको हो ।
चीनसँग सञ्जाल विकास गर्ने लक्ष्यका साथ हिमालयले बेइजिङमा पहिलो उडान शुरुआत गर्ने र क्रमशः अन्य गन्तव्यमा उडान भर्ने आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार आगामी कात्तिक १० देखि बेइजिङस्थित नवनिर्मित डाक्सिन इनटरनेशनल विमानस्थलमा हिमालयले उडान शुरु गर्ने छ । विश्वकै आधुनिक सुविधायुक्त यो विमानस्थल हालै मात्र औपचारिकरूपमा सञ्चालनमा आएको हो । उक्त विमानस्थलमा उडानका लागि ‘स्लट’ पाइसकेको कम्पनीले जनाएको छ ।
बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै व्यस्त भएका कारण नेपाली वायुसेवा प्रदायक कम्पनीले उक्त विमानस्थलमा स्लट पाउन सकेका थिएनन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पनि छिट्टै बेइजिङ उडान भर्ने तयारी गरेको छ ।
यद्यपि अहिलेसम्म उसले स्लट पाएको छैन । चिनियाँ प्राविधिक टोलीले निगमको ‘अडिट’ गरेपछि मात्र अनुमति पाउने बताइएको छ ।
चीनका विभिन्न गन्तव्यमा सिधा उडानबाट नेपाल भम्रण वर्षका सन्र्दभमा बढीभन्दा बढी चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने कम्पनीले उल्लेख गरेको छ ।
त्यसैगरी हिमालयले आगामी कात्तिक महिनादेखि नै मलेशियाको राजधानी क्वालालम्पुरमा पुनः उडान गर्ने भएको छ ।
यो गन्तव्यमा प्रवेशाज्ञा प्रक्रियाको झन्झटले एक वर्ष अघिदेखि उडान रोकिएको थियो । कम्पनीको सेवा सुधार शाखा प्रमुख उज्ज्वला दलीले क्वालालम्पुर राम्रो स्रोत बजार भएकाले आगामी कात्तिक १० देखि सो गन्तव्यमा उडान शुरु गरिने बताए ।
कम्पनीले यात्रुको सुरक्षा, सेवामा सुदृढीकरण, सामूहिकता तथा आतिथ्य सत्कारलाई प्राथमिकता दिएको उनले उल्लेख गरे ।
पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले विश्व हवाई बजारमा हिमालय उदाउँदो कम्पनी भएकाले यसको गन्तव्य विस्तारसँगै सेवा स्तरीकरणमा विशेष ध्यान दिइने उल्लेख गरे ।
Discussion about this post