बर्दिवास । गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर मिलले किसानलार्इ उखुको भुक्तानी दिन आलटाल गरी रहेको छ । किसानले उत्पादन गरी विक्री गरेको उखुको भुक्तानी अझै सम्म नपाउँदा किसान मर्कामा परेका हुन् । उचित मूल्य निर्धारण र भुक्तानीको माग गर्दै यसअघि किसान एक महिना अनशन बसेका थिए । अनशन बसेका किसानलाई उद्योगमन्त्री मातृकाप्रसाद यादवले एक साताभित्रै भुक्तानी दिन सहमति गरेको थियो । तर सहमति कागजमा मात्र सिमित भएको छ ।
उक्त मिलले किसानलाई गत वर्षको झण्डै १ अर्ब भुक्तानी गर्न बाँकी रहेकोछ । मिलले किसानसँग उखु खरीद बापतको १ अर्ब ४ करोड मात्र भुक्तानी गरेको छ । भुक्तानी गर्न मिलले आनाकानी गर्दै आइरहेको छ । भुक्तानी पाउने निश्चित नभएको उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो । उद्योगले गत वर्ष महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट, सप्तरी, बारा र पर्साका किसानले उत्पादन गरेको ४२ लाख ५९ हजार ७७४ क्विन्टल उखु खरीद गरेको थियो । विसं २०५३ मा स्थापना भएको उक्त मिलले आफ्नै ढङ्गले मूल्य निर्धारण र भुक्तानी गर्दैआएको छ ।
Discussion about this post