लेखनाथ, २५ मसिर ।
पोखरा महानगरपालिका–२९, नौविसेका विष्णु प्रसाद लामिछाने स्थानीय जेठोबुढो धानको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा लागिरहेका छन्। विगत ६ वर्षदेखि राइस मिल सञ्चालन गर्दै आएका लामिछानेले दुई वर्षदेखि जेठोबुढो चामललाई प्याकेजिङ र ब्रान्डिङ गर्दै बजारमा ल्याउँदै आएका छन्।
साविकका लेखनाथ क्षेत्रका फाँटहरू, कास्कीको हेमजा, माझठाना र तारकाङका फाँटहरूमा परम्परागत रूपमा खेती हुँदै आएको स्थानीय जातको यो धान यसको मिठास र सुगन्धका कारण मनपराइन्छ। तर खेती गर्ने तरिकामा आएको परिवर्तन, रासायनिक मलको बढ्दो प्रयोग जस्ता कारणले पछिल्लो समयमा यसको बास्ना हराउँदै जाने समस्या देखिएको किसानहरूको बुझाइ छ।
यस धानको भातमा आउने विशिष्ट सुवास र स्वादले पोख्रेलीहरुको रोजाइ बन्न पुगेको छ। तर यसको उत्पादन तुलनात्मक रूपमा कम हुन्छ । सामान्य धानले जति उत्पादन दिने खेतमा जेठोबुढो आधा वा सोभन्दा कम उत्पादन दिने बताइन्छ। त्यसकारण उत्पादन लागत उच्च र मूल्य पनि उच्च निर्धारण हुन पुगेको छ।
स्थानीय उत्पादनलाई पहिचानसहित बजारमा लैजानका लागि लामिछानेलाई पोखरा महानगरपालिकाले प्याकेजिङमा सहयोग गरिरहेको छ भने प्रवर्द्धनका लागि लेखनाथ उद्योग वाणिज्य संघले सहयोग गरिरहेको छ । संघकी अध्यक्ष जानुका पराजुलीले स्थानिय उत्पादनको प्रर्वद्धन गर्नु सघको दायित्व पनि भएकाले यसको प्रर्वद्धनका लागि संघका विभिन्न कार्यक्रमहरुमा अतिथिहरुलाई उपहारको रुपमा प्रदान गर्दै आईरहेको वताईन ।
लामिछानेका अनुसार जेठोबुढो धानको उत्पादन बढाउन किसानलाई प्रोत्साहन आवश्यक छ। “प्रत्येक पालिकाले उत्पादनमा आधारित अनुदानको व्यवस्था गरे खेती विस्तारमा ठूलो टेवा पुग्छ,” उनले बताए।
बढ्दो लोकप्रियताका कारण बजारमा जेठोबुढो चामलको माग उच्च रहे पनि आपूर्तिमा समस्या देखिएको छ। माग अनुसार धान उत्पादन हुन नसक्दा पछिल्लो वर्ष किसानहरूबाट ६ सय मुरिसमेत धान खरिद गर्न नपाएको लामिछाने बताउँछन्। आपूर्ति कमीका कारण बजारमा मूल्य बढ्ने गरेको छ। अहिले २ केजीको प्याकेटमा ब्रान्डेड जेठोबुढो चामल उपलब्ध छ।
पोखरा र आसपासका क्षेत्रहरुमा मात्र उत्पादन हुने जेठोबुढो धान पहिले यस क्षेत्रका उपभोक्ताहरुले मात्र उपभोग गर्ने गरेपनि प्याकेजिङ र ब्राण्डिङ गरेर बजारमा आएपछि देशका विभिन्न क्षेत्रहरुका उपभोक्ताहरुले पनि उपभोग गर्न पाएको र माग पनि वढ्दै गएको लामिछानेले वताए ।
बजारमा जेठोबुढो नाममा अन्य चामल मिसावट गर्ने प्रवृत्ति भने चुनौतीका रूपमा बढेको छ। यस्तो मिसावट नियन्त्रण गरिएमा स्थानीय ब्रान्डको विश्वासिलो छवि बनाउने र किसानलाई थप लाभ पुग्ने लामिछानेको विश्वास छ।






Discussion about this post