पोखरा। ताल वाराही मन्दिर पुनःनिर्माणका लागि शिलान्यास भएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिहीबार शिलान्यास गरे । ऐतिहासिक महत्वको यो मन्दिर पुरानै स्वरुपमा निर्माण गर्न पुरातत्व विभागको समन्वयमा कुल ९ करोड रुपैयाँ लागतमा आगामी २ वर्षभित्र निर्माण सम्पन्न गरिने योजना छ ।
सो अवसरमा आचार्यले ताल वाराही पोखराको गहना भएको बताए । मन्दिर पुनःनिर्माणका लागि पोखरा महानगरपालिकाले सहयोग गर्ने जनाउँदै उनले रकमको चिन्ता नलिन आग्रह समेत गरे ।
मन्दिर व्यवस्थापन समितिले गत वर्षदेखि नै माइकिङ गरेर मन्दिर दर्शन गर्न आउने भक्तजनबाट सहयोग रकम संकलन गर्दै आएको छ । मन्दिर गुठी व्यस्थापन समिति अध्यक्ष हिक्मतबहादुर कुँवरले मास्टर प्लान अनुसारको मन्दिर र परिसरमा रहने संरचना निर्माणमा ९ करोड खर्च हुने अनुमान रहेको बताए ।
उनका अनुसार मन्दिर आगामी २ वर्षमा निर्माण पूरा हुनेछ । मास्टर प्लानअनुसार यहाँ मूल मन्दिरसहित गणेश मन्दिर, हवनकुण्ड बन्नेछन् । साथै अण्डरग्राउन्डमा सभा हल, बैठक कक्ष, फोटोग्राफी, फूलप्रसाद, शौचालय लगायत बन्ने छन् ।
तालवाराहीमा कोजाग्रत पूर्णिमामा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ ।
Discussion about this post