पोखरा, ३१ साउन ।‘लोक कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्वनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ पोखरा – १८ सराङकोट तीज मेला – २०७९ हुने भएको छ ।
अन्नपूर्ण सामुदायिक विकास मञ्चको आयोजना तथा महिला साना किसान कृषि सहकारी सराङ्कोट र नेपाल रेडक्रस सोसाईटी सराङ्कोटको सहआयोजनामा मेला हुन लागेको हो ।
मेला अन्नपूर्ण सामुदायिक मञ्चको प्राङ्गणमा भदौ १२ देखि १४ गतेसम्म हुने अध्यक्ष एवं कार्यक्रम संयोजक महेश कुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।
मेला सम्पन्न गर्न अध्यक्ष महेश कुमार तिमिल्सिनाको संयोजकत्वमा एक सय एक सदस्यीय मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरिएको छ । मूल आयोजक समिति र उपसमितिहरुले मेलाको तयारी तिव्र पारेका छन् ।
‘मौलिक कला, संस्कृति, धर्म, रितिरीवाजको संरक्षण र प्रवद्र्वनका लागि पहिलो पटक मेला गर्दैछौं, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो–मेलाले मौलिक कला र संस्कृतिका बारेमा युवा पुस्तालाई जानकारी पनि दिनेछ।’
मेलाको आकर्षणमा खुला तीज गित प्रतियोगिता, गृहिणी नृत्य प्रतियोगिता, ठेलो हान्ने प्रतियोगिता र घैंटो फुटाई प्रतियोगिता रहेका छन् । तीज गितमा ५० बढी समूहको सहभागिता रहने आयोजकको अपेक्षा छ ।
तीज गित प्रतियोगितामा प्रथमलाई ६६ हजार ६६६, द्वितीयलाई ३३ हजार ३३३ र तृतीयलाई २२ हजार २२२ र प्रमाण पत्र प्रदान गरिने छ ।
गृहिणी नृत्यतर्फ प्रथमलाई १५ हजार र द्वितीयलाई ५ हजार र प्रमाण पत्र, ठेलोतर्फ प्रथमलाई २० हजार, द्वितीयलाई ८ हजार मेडल र प्रमाण पत्र, घैंटो फुटाईतर्फ विजेतालाई ५ हजार र प्रमाण पत्र प्रदान गरिने छ ।
Discussion about this post