जक्सन न्यूज
पोखरा, २७ असोज ।
खुशी किनेर पाईन्छ ? शायद पाईदैन ।
तर खुशी किन्ने वहानामा वर्षेनी थुप्रै नेपाली युवाहरु विदेशिन्छन् । थुप्रै बाध्यताहरुले नेपाली युवालाई विदेशिन बाध्य पार्छ । विदेश जाने प्रत्येक युवाहरुको आफ्नै कथा छ, व्यथा छ अनि बाध्यता छ ।
नेपालीहरु दशैँलाई महान चाडको रुपमा मनाउँछन् । वर्षौंदेखि विदेशिएका नेपालीहरु दशैँ मान्न बिदा मिलाएर सकेसम्म घर फर्कन्छन् । तर कतिपय युवाहरुको बाध्यता यस्तो छ कि, उनीहरु दशैँ मान्न छाडेर विदेशिनुपर्ने हुन्छ । चाडवाडको बेलामा घरपरिवारसँग बसेर रमाईलो गर्न छाडेर विदेशिनु पर्दाको पीडा पक्कै पनि नमिठो हुन्छ ।
साहुको ऋण, आफ्नो अनि बालबच्चाको भविष्यको चिन्ता गर्दै घरको मुल मान्छे नै विदेश जाँदा परिवारका अन्य सदस्यहरुको पनि आफ्नै खाले पीडा हुन्छ । तथ्यांकले भन्छ-‘वैदेशिक रोजगारीमा नेपालबाट वर्षेनी ५ लाख भन्दा बढि युवाहरु विदेशिन्छन् ।’ वैदेशिक रोजगार विभागको अनुसार त्यस्तो कुनै पनि दिन छैन, जुन दिन नेपाली युवाहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रोजगारीका लागि बिदेशिएका नहोउन् । दैनिक कम्तीमा १५ देखि बढिमा २५ सय जनासम्म नेपाली युवाहरु विदेश जाने गरेका छन् ।
तथ्यांकले यो पनि देखाउँछ कि वर्षेनी ८ सय भन्दा बढि नेपाली युवाहरुको लाश विमानस्थलबाटै नेपाल फर्कन्छ । हालसम्म विदेशिने नेपाली युवाहरुको संख्या ७० लाखको आसपास छ ।
यस्तै कथालाई टपक्क टिपेर गीतकार आकाश दाहालले गीत कोरे-‘बस है पियारी, घरबारै स्याहारी’ । गायक तथा संगीतकार सन्तोष बस्यालले धुन भरेर गीत गाए । सोही गीतमाथि निर्देशक नेत्र गुरुङले भिडियो बनाए । गीतको भिडियोमा अभिनेत्री सोफि धरेलसँगै गीतकार दाहाल आफै फिचर्ड छन् । भिडियोलाई दिपेश केसीले खिचेका हुन् ।
वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाको बाध्यतालाई मुख्य विषय बनाएर बनेको गीतको भिडियो मंगलबार जक्सन टिभीको अफिसियल युट्युबमार्फत सार्वजनिक भएको छ । फुलपातीको साइत पारेर पोखरामा मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरि गीतको भिडियो सार्वजनिक भएको हो ।
Discussion about this post