रामपुर पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ भूतखोलास्थित पाल्पा बुटवल सडक खण्डमा कन्ये च्याउको व्यावसायिक खेती गरेकी दिलकुमारी रोकामगर वर्ष २०२१ का लागि विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने दश महिलाको सूचीमा पर्नुभएको छ । उहाँले वुमन वल्र्ड समिट फाउन्डेसन (डब्लुडब्लुएसएफ) जेनेभा, स्वीटजरल्यान्डबाट हरेक वर्ष प्रदान गरिने एक हजार डलर राशिको पुरस्कार प्राप्त गरेकी छन् ।
“च्याउ खेतीबाट यति ठूलो सफलता पाइएला भन्ने लागेको थिएन, सिर्जनशील महिलाको छनोटमा परी अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा व्यवसायमा औधी खुसी लागेको छ”, दिलकुमारी भन्छिन् । उनी साहसी र अग्रणी सिर्जनशील महिलाका रूपमा छनोटमा परेकी छन् ।
डब्लुडब्लुएसएफले हरेक वर्ष ग्रामीण क्षेत्रमा अहोरात्र खट्ने विश्वभरका दश महिलालाई सम्मान गर्दै आएको छ । उनलाई अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसका दिन यो पुरस्कार प्रदान गरिनेछ । “हामीजस्ता महिलाले गरेको मिहिनेत, काम र सङ्घर्षको मूल्याङ्कन हुँदा व्यवसायमा जोस, जाँगर थपिएको छ, अन्तर्राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गर्नु नै मेरो लागि जीवनको ठूलो सफलता हो,” उनले खुसी हुँदै भनिन् ।
Discussion about this post