दुलेगौडा । तनहुँको भिमाद नगरपालिका ९ मा एक कोरोना संक्रमितको मृत्यु भएको छ । ७० बर्षीय पुरुष संक्रमित अवस्थामा नै अस्पताल छोडेर जवरजस्ती घर आउदाँ मृत्यु भएको हो । रक्तचाप र मधुमेहको समस्या झेल्दै आएका बृद्धमा दुई हप्ता अघि उपचारको क्रममा कोरोना पुष्टि भएको थियो ।
चितवन मेडिकल कलेजमा उपचार गराईरहेको बृद्धलाई सघन कक्षमा राखेर उपचार गर्नुपर्ने आवश्यकता रहेको चिकित्सकहरुले जनाए पनि परिवारका सदस्यले जवरजस्ती घर ल्याएका थिए । बुधबार घर आएका बृद्धको विहिबार निधन भएको वडा न ९ का वडाध्यक्ष इमान थापाले पुष्टि गर्नुभएको छ ।
घरमा नै संक्रमितको ज्यान गएपछि शव ब्यवस्थापनका लागि समस्या भएको भिमाद नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख मनुराज बरालले गाउँमा शव ब्यवस्थापन गर्न स्थानीयहरुले इन्कार गरेकाले नगरपालिकाले चर्काे मुल्यमा शवबहानको ब्यवस्था गरि शवको ब्यवस्थापन गर्न पहल भईरहेको जनाउनुभयो ।
उहाँको अनुसार शव पोको पार्न आवश्यक पर्ने ¥याप पेपर स्वास्थ्य मन्त्रालयबाट झिकाईएको छ भने शवबहानलाई नगरपालिकाले खर्च ब्यहोर्ने गरि ३० हजारमा पोखराबाट ल्याइएको छ ।
बुधबार चितवन मेडिकल कलेजबाट जवरजस्ती ल्याइएको विरामीलाई तनहुँको जिपि कोइराला स्वास प्रस्वास उपचार केन्द्रमा राख्न परिवारका सदस्यहरुले आग्रह गरेका थिए । अस्पतालमा जटिल समस्या सहितको विरामी राख्न सम्भव नभएपश्चात अक्सिजन लगाएरै घरमा लगिएको बुझिएको छ ।
Discussion about this post