भारत सरकारले आफूले नेपाली भूमि नमिचेको दाबी गरेको छ ।
बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भारतले जारी गरेको नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै परिवर्तन नगरिएको जानकारी दिएका छन् ।
‘हाम्रो नक्सामा भारतीय सार्वभौम भूभाग मात्रै दर्शाइएको छ । नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै संशोधन गरिएको छैन’, विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने । तर उनले नेपालसँग रहेको सीमा विवाद भने दुई पक्षीय संयन्त्रबाट समाधान गर्ने प्रयास भैरहेको बताए । ‘हामी हाम्रो निकट र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको भावनालाई कदर गर्दै वार्ताको माध्यमबाट सीमा विवाद समाधान हुनुपर्छ भन्ने प्रतिबद्धता दोहोर्याउन चाहन्छौँ । साथै दुई देशबीच मतभेद पैदा गर्न खोज्ने निहीत स्वार्थका विरुद्ध दुवै देश लड्नुपर्ने छ’, प्रवक्ता कुमारले भने ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले कसैको उक्साहटमा भारत–नेपालबीच पछिल्लो समय सीमा विवाद बढेकोतर्फ संकेत गरेका छन् ।
Discussion about this post