सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता प्रक्रिया अन्योल बनेको छ । समाजवादीले सरकार छाडे मात्र एकता सम्भव हुने शर्त राजपाले अघि सारेको छ । यसबाट दुई पार्टीको एकता अवरुद्ध भएको छ ।
राजपा र सत्तारुढ समाजवादी पार्टीको एकता बहस लगातार भयो । तर, अहिलेसम्म पनि एकता प्रक्रिया निचोडमा पुग्न सकेको छैन । यसका मूख्य दुई कारण रहेको जानकारहरु बताउँछन् । समाजवादीले सरकार छाड्नु पर्ने राजपाको शर्त र अर्को राजपाभित्रको किचलो एकता प्रक्रियाको बाधक मानिएको छ ।
देखिनु यी दुई विषय भएपनि पदीय लोभ नै प्रमुख कारण भएको जानकारहरु बताउँछन् । एकीकरणका लागि भन्दै दुई दलले समिति समेत बनाए । समितिले पटक–पटक छलफल समेत ग¥यो । अन्तिममा आएर पार्टी एकतासँगै सरकार छाडेर आन्दोलनमा जानुपर्ने राजपाको प्रस्ताव समाजवादीले अस्वीकार गरेको छ ।
राजपा र समाजवादी पार्टीबीच एकिकरण गर्नेबारे सैद्धान्तिक तथा वैचारिक सहमति भएपनि एकतासँगै सरकार छाडने कि नछाडने भन्ने विषयले प्रमुखता पायो । वार्तामा पार्टीको नाम राष्ट्रिय समाजवादी पार्टी अथवा समाजवादी जनता पार्टी नेपाल मध्ये एक राख्ने सहमती भएको थियो ।
एकताको महाधिवेशन नहुन्जेलसम्म केन्द्रीय समिति तथा तल्लोस्तरसम्म दुवै पार्टीको समान हैसियत राख्ने सहमति भएको थियो । राजपाको शर्तलाई समाजवादीले चासो दिएन । जसका कारण एकता अन्योल बनेको नेताहरु बताउँछन् ।
समाजवादी पार्टी नेपालले हाललाई सरकार छाड्ने अवस्था नरहेको बताएको छ । समाजवादी र राजपाको एकीकरण गर्ने र वैकल्पिक शक्ति बन्ने दावी जानकारहरुले पत्याएका छैनन् । समाजवादीका अध्यक्ष उपेन्द्र यादव तत्काल नै सरकार छाड्ने पक्षमा छैनन् । यद्धपि उनका अभिव्यक्तिले सरकारप्रतिको सन्तुष्टि पनि देखिदैन ।
Discussion about this post