संघीय संसद सचिवालयले निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बन हुनेबारे सूचना जारी गरेको छ।
बिहीवार संघीय सांसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको सूचनामा निवर्तमान सभामुख कृष्णबहादुर महराले सांसदको रुपमा खाइ पाइ आएको सम्पूर्ण सुविधा रोकिने जनाइएको छ । सूचना अनुसार प्रतिनिधि सभा नियमावलीको नियम २४४ उपनियम (३) बमोजिम सेवासुविधा स्थगित हुने कुरा उल्लेख छ ।
सो नियम बमोजिम कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ’, भन्ने व्यवस्था छ।
Discussion about this post