मोटर गाडी, हवाई जहाज, समुद्री यात्रा गर्दा रिँगटा लाग्ने, वाकवाकी आउने, असहज अनुभव गर्ने समस्याबाट पीडित हुनेहरूको संख्या कम छैन । बोलचालको भाषामा ‘गाडी लाग्नु’ भनिने यो समस्या, अर्थात् ‘मोसन सिकनेस’ गाडी, हवाई जहाज, रेल, पानीजहाज र डुंगा आदिबाट यात्रा गर्दा धेरैजसो व्यक्तिलाई हुने गर्छ ।
यो गम्भीर समस्या त होइन, तर यसले बेचैनी, पसिना, रिँगटा र वान्तासम्मको चक्रले सम्बन्धित व्यक्तिलाई आलस–तालस बनाउँछ । दशैंमा घर जाँदै हुनुहुन्छ र गाडी लाग्ने अर्थात् मोसन सिकनेसको समस्या छ, भने चिकित्सकको सल्लाह लिएर औषधि सेवन गरेर यात्रा गर्न होला ।
गाडी लाग्नु भनेको व्यक्ति विशेषको शरीरको सन्तुलनलाई अनुभव गर्ने अवस्थासँग जोडिएको समस्या हो । यात्रा गर्दा शरीरको इन्द्रियहरु आँखा, कान आदिले सन्तुलित ढंगबाट आ–आफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य बान्ता उत्पन्न हुने चिकित्सकहरुले बताएका छन् ।
गाडीमा बसेको बेला सीधा हेर्ने गरे यो समस्या कम हुन्छ झ्यालबाहिरको दृश्यावलोकन गर्दा यो समस्या बढ्न सक्छ । दृष्टि झ्याल छेउछाउका वस्तुमा भन्दा टाढा केन्द्रित गर्नुपर्छ यसले गाडी लाग्ने हुँदैन । गाडीको पछिल्लो सिटमा बस्दा गतिको अनुभूति बढी हुन्छ, त्यही भएर गाडी लाग्ने अर्थात मोसन सिकनेस भएकाहरूले सम्भव भएसम्म गाडीको अगाडि बस्नुपर्छ ।
गाडी लाग्ने व्यक्तिहरूले यात्रा गर्नुअघि प्रोक्लोरपेराजिन, जेनरिक नाम भएको औषधि सेवन गर्दा राहत मिल्ने चिकित्सकहरुले बताएका छन् । केही औषधिको उपयोग गर्दा वाकवाकी र मोसन सिकनेस बढ्छ । यदि कुनै व्यक्तिलाई सामान्य अवस्थामा गाडी लाग्दैन, तर कुनै औषधि सेवनका क्रममा यात्रा गरेमा यो समस्या देखिन्छ ।
दुई वर्षदेखि बाह्र वर्षसम्मका बालबालिका यस्तो समस्याप्रति अति संवेदनशील हुन्छन्। त्यस्तै बढी मोसन सिकनेस महिलालाई हुने गर्छ । गर्भवती, रजस्वला भइरहेका वा हार्मोन लिइरहेका महिलाहरूलाई पनि गाडी लाग्ने अर्थात मोसन सिकनेस हुन्छ त्यसैगरी माइग्रेन भएकाहरूलाई समेत बढी मोसन सिकनेस हुने चिकित्सकहरुले बताएका छन् ।
दशैँको बेला यात्रा गर्दा वाकवाक्की लाग्ने रिंगटा लाग्ने समस्याबाट बच्न चिकित्सकको सल्लाह लिएर औषधि सेवन गरेमा यात्रा कष्टकर नहुने चिकित्सकहरुको सुझाब छ ।
Discussion about this post