भक्तपुर । भक्तपुर नगरपालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न समस्या परेका विद्यार्थीलाई ५ लाख रुपैयाँसम्म शैक्षिक ऋण दिने भएको छ ।
भक्तपुरले एसइईभन्दा माथिल्लो तह अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ६ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन लागेको हो । यस्तो ऋण विद्यार्थीले अध्ययन पूरा भएको चार वर्षभित्र फिर्ता गरिसक्नुपर्नेछ । मेयर सुनील प्रजापतिले आइतबार शैक्षिक ऋण वितरण कार्यक्रमको शुभारम्भ गरे । ‘गरिबीकै कारण उच्च शिक्षा पढ्न नपाउने अवस्था नबनोस् भन्ने ध्येय हो । गरिब, दलित र किसान परिवारलाई कार्यक्रमले लाभ मिल्छ,’ उनले भने ।
आफ्नै लगानीमा शैक्षिक संस्थासमेत सञ्चालन गरेको भक्तपुर नगरपालिकाले शैक्षिक ऋण कार्यक्रम सञ्चालन गर्न ‘भक्तपुर नगरपालिकाको शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका’ जारी गरेको छ । निर्देशिकाबमोजिम वडा कार्यालयमार्फत प्रक्रिया पु-याई आवेदन गर्नेलाई ऋण दिन थालिएको मेयर प्रजापतिले बताए । कार्यक्रम लागू गरिएको पहिलो वर्ष ऋण लिन ३५ जनाको आवेदन परेको छ । उनीहरूलाई चालू आर्थिक वर्षबाटै ऋण दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले बताए । याे खबर आजकाे नयाँ पत्रिकामा छ।
Discussion about this post