काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिका लागि आज संवैधानिक परिषदको बैठक बस्ने भएको छ ।
यसअघिको संवैधानिक परिषदले वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर सर्वोच्चको इतिहासमै परिषद्ले सिफारिस गरेको नाम संसदीय सुनुवार्इ समितिबाट अस्वीकार भएपछि जोशी अस्वीकृतका थिए । जोशीको अस्वीकृतसँगै प्रधानन्यायाधीश नियुक्तिका लागि पुनः परिषदले अर्को नाम सिफारिस गर्न लागेको हो ।
प्रधानन्यायाधीश सिफारिसका लागि आज अपराह्न ४ बजे बैठक बस्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयले जानकारी दिएको छ ।
सर्वोच्चमा प्रधानन्यायाधीशका लागि योग्यता पुगेका वरिष्ठ न्यायाधीशमा ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर राणा रहेका छन् ।
आज बस्ने संवैधानिक परिषदले यीनै दुईको नामबाट एउटाको नाम सिफारिस गर्ने छ । बैठकले आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पनि सिफारिस गर्ने तयारी गरिरहेको छ । दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि अख्तियार कार्यवाहकको भरमा चलिरहेको थियो । हाल कार्यवाहकको जिम्मेवारी नविनकुमार घिमिरेले सम्हालिरहेका छन् ।
प्रमुख आयुक्तका लागि घिमिरेसहित पूर्वमुख्यसचिव लिलामणि पौडेल, राजेन्द्र किशोर क्षेत्री, युवराज संग्रौला लगायत आकांक्षीमा रहेका छन् ।
Discussion about this post