काठमाडौ । १८ औँ एशियाली खेलकूदअन्तर्गत तेक्वान्दोको तेस्रो दिन पनि नेपाल पदक विहीन बनेको छ ।
इन्डोनेशियाको जकार्तामा जारी एशियाली खेलकुदअन्तर्गत आज तेस्रो दीन नेपालका तर्फबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गरे भने दुई खेलाडी पहिलो चरणबाटै आउट भए ।
महिला ५७ केजी मुनि ज्ञानी चुनारा क्वाटरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिन लोइससँग २०–० को ठूलो अन्तरले पराजित भइन् । भने ज्ञानीले पहिलो चरणमा भुटानकी छोडेन किन्जाङलाई २८–६ ले हराउँदै क्वाटरफाइनलसम्मको यात्रा तय गरेकी थिइन । महिला ६७ केजीमाथिको पहिलो चरणमा ओलम्पियन निशा रावललाई चीनकी गाउ पानले २२–६ ले हराइन । पुरुष ८० केजीमाथि अनोज पुजारी पहिलो चरणमै सीमित भए । काजाकिस्तानका झापारोभ रुसलानले अनोजमाथि २१–० को सहज जित दर्ता गरे ।
एशियाली खेलकूदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दोमा नेपालले हालसम्म एक रजत र १३ कांस्य गरी जम्मा १४ पदक जितेको छ ।
Discussion about this post